महासंघमा सहकारी सचिवलाई स्वागत कार्यक्रम 

महासंघमा सहकारी सचिवलाई स्वागत कार्यक्रम  :: Sahakari Akhabar

काठमाडौं । सहकारी महासंघले नवनियुक्त सहकारी सचिव दामोदर रेग्मीलाई स्वागत गरेको छ । महासंघको कार्यलयमा सोमबार औपचारिक कार्यक्रम गरी स्वागत गरिएको जनाएको छ । 

आफुले नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने निकाय भएपनि सचिव रेग्मी महासंघको स्वागत थाप्नका लागि कार्यालयमा पुगेका थिए । यसअघि पनि मन्त्रालयमा नयाँ सचिवको नियुक्तीसँगै महासंघले कार्यालयमा बोलाएर स्वागत कार्यक्रम गर्दै आएको छ । 

स्वागत कार्यक्रममा पुगेर सचिव रेग्मीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । उनले संस्थागत सुशासन बृद्धिका लागि अभियानसँग मिलेर अघि बढ्ने समेत बताए । 

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा देखिएको पछिल्लो अवस्थाको विषयमा जानकारी गराउँदै ऐनले व्यवस्था गरेको कर्जा सुचना केन्द्र, ऋण असुली न्याधिकरण, निक्षेप तथा बचत सुरक्षण कोषको कार्यान्वयन तत्काल गर्नुपर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष तथा पुर्व मन्त्री केशव बडालले ४७ वटा ऐनहरु सहकारीका लागि बाधक रहेकाले ती ऐन संशोधनका लागि सहयोग गर्न अनुरोध गरे । 

महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सन्दर्भ ब्याजदर तत्काल पुनरावलोकन गर्न र दिर्घकालिन रुपमा सहकारीमा बजार अनुसार स्वचालित रुपमा ब्याजदर घटबढ हुने व्यवस्थाका लागि ऐन संशोधनको पहल गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव निराजन घिमिरेले कानुनमा व्यवस्था भएका विषयहरु कार्यन्वयन गरी पछिल्लो समय देखिएको समस्या समाधानका लागि मन्त्रालयको ध्यानआकर्षण भएको बताएको महासंघले जनाएको छ । 
 



Leave a comment