बैंकको स्प्रेडदर घटाएपछि सहकारीको सन्दर्भ ब्याजदर नबढ्ने

बैंकको स्प्रेडदर घटाएपछि सहकारीको सन्दर्भ ब्याजदर नबढ्ने :: Sahakari Akhabar

काठमाडौं । कर्जाको ब्याजदरबारे उद्योगी तथा व्यापारीहरुले विरोध गरिरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफा कटाएर ऋणीको ब्याजदर घटाउने रणनीति लिएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति समिक्षा गर्दै केन्द्रीय बैंकले कर्जाको ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जाको औशत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउने घोषणा गरेको छ । 

मौद्रिक नीतिको समिक्षामा वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशत  तथा विकास बैंक र फाइनान्स कम्पनीको ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । यो ब्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्ने र गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने राष्ट्र बैंकको भनाइ छ । तर, स्प्रेडदर घटाउदा बैंकहरुको नाफा भने घट्नेछ । 

सहकारी ऐनको प्रावधान अनुसार सहकारी संस्थाहरुले औशत ६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्ने ब्यवस्था छ । यसैगरी सहकारीले कर्जा लगानी गर्दा अधिकतम १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएको छ ।  सहकारी संचालकहरुले यो सिमाभित्र बसेर काम गर्न नसकिएको भन्दै बृद्धि गर्न दवाव दिइरहेका छन् । 

तर, राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकको नाफा कटाएर कर्जाको ब्याजदर घटाउने रणनीति लिएपछि सहकारीको सन्दर्भ ब्याजदर पनि बढ्न अवस्था नरहेको सहकारी विभाग उच्च स्रोतले जनाएको छ । ‘हामीले ब्याजदर पुनरावलोन गर्न राष्ट्र बैंकको नीतिलाई आधार लिने हो’ स्रोतले भन्यो, ‘राष्ट्र बैंक नै कर्जाको ब्याजदर घटाउने रणनीतिमा लागेपछि हामीले सहकारीको ब्याजदर बढाउन मिल्दैन’

कर्जाको ब्याजदर नियन्त्रण गर्नका लागि कर्जाको ब्याजदर तय गर्न बैंकहरुले आधारदरमा जोड्ने  प्रिमियम सम्बन्धी व्यवस्थाको समेत नियमित अनुगमन गर्ने पनि राष्ट्र बैंकले जनाएको छ । यसअघि बैंकहरुले नियम विपरित बढाएको प्रिमियम घटाउन र बढि लिएको ब्याज पनि फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । 

तरलता अभावसँगै बैंकहरुले आफुखुशी ब्याजदर र प्रिमियम वृद्धि गरेको भन्दै उद्योगी ब्यापारीहरुले काठमाडौंलगायत विभिन्न सहरहरुमा कात्तिक अन्तिम साता विरोध चर्काएका थिए । तर, नेपाल उद्योग बाणिज्य महासंघले आग्रह गरेपछि चुनावसम्मका लागि आन्दोलन स्थगित भएको छ । 

समिक्षा सार्वजनिकपछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अब ब्याजदर नबढाउने नीति लिइने बताए । ‘ब्याजदर थप बढ्न नदिने राष्ट्र बैंकले नीति लिएको छ’ उनले भने, ‘यसका लागि नै बैंकहरुको स्प्रेडदर कम गरिएको हो ।’

 



Leave a comment