काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका संचालक तथा सदस्यहरुलाई २० बुँदे निर्देशन दिएको छ । तरलता अभावका कारण सहकारी संस्थाहरुले बचत फिर्ता दिन नसकेको समस्या बढ्दै गएपछि महानगरेको सहकारी विभागले सार्वजनिक सुचना जारी गर्दै आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न निर्देशन दिएको हो ।
सूचनामा सहकारी संस्थालाई तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न, वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न, बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न भनिएको छ ।
यस्तै सदस्यहरुलाई सुशासनका लागि संस्थामा निरन्तर निगरानी गर्न, संचालक समितिबारे नियमित जानकारी राख्न, लामो अवधिको निक्षेप नराख्न, कार्यक्षेत्र बाहिरका संस्थासँग कारोबार नगर्न आग्रह गरिएको छ ।
सहकारीमा समस्या बढ्दै गएपछि गत बुधबार भएको कार्यपालिकाको बैठकमा मेयर वालेन्द्र शाहले चाटर्ड एकाउन्टेन्ट सहित सहकारी समिति बनाउने प्रस्ताव गरेका थिए । कार्यपालिकाले निर्णय गरेपनि अहिलेसम्म समिति निर्माण भने भएको छैन । तर, सहकारी क्षेत्रमा भने वालेनले सहकारीलाई कडाइ गर्न लागेको भन्दै त्रसित भएका छन् ।

Leave a comment