बचत दावी अद्यावधिक गर्न ओरेन्टलका पिडितलाई समितिको आग्रह 

बचत दावी अद्यावधिक गर्न ओरेन्टलका पिडितलाई समितिको आग्रह  :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचत दावी रकम अद्यावधिक गर्नका ओरेण्टल को–अपरेटिभका बचतकर्तालाई आग्रह गरेको छ । सरकारले दोस्रो पटक समस्याग्रस्त घोषणा गरेर समितिको जिम्मा लगाएपछि समितिले सार्वजनिक सूचन जारी गर्दै आफ्नो दाबी १५ दिनभित्र अद्यावधिक गर्न भनेको हो  । 

पिडित बचतकर्ताहरुले समितिको आधिकारीक वेब साईटमार्फत आफ्नो दावी रकम अद्यावधिक गर्न सक्ने समितिले जनाएको छ । 

समितिले यसअघि नै पिडितबाट दावीका लागि उजुरी लिएको थियो । समितिसँग भएको सूचनाका आधारमा ओरेन्टलले बचतकर्ताको पौने ११ अर्व रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी छ । 

दोस्रो पटक २०७९ साल असोज १२ गते समस्याग्रस्त घोषणा भएको सहकारीले ७ हजार ६ सय ४६ जनाको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार १ सय ७४ रुपैयाँ तिर्न बाँकी रहेको समितिले बताएको छ । उक्त रकममा अद्यावधिक गर्नका लागि समितिले थप समय दिएको हो । 

ओरेन्टललाई २०७४ कात्तिकमा सरकारले पहिलो पटक समस्याग्रस्त घोषणा गरेको थियो । ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशबमोजिम सहकारीका सञ्चालकले समस्या समाधान गर्नेतर्फ ध्यान नदिएपछि सहकारीमन्त्री शशी श्रेष्ठले २०७९ असोज ७ गते मन्त्रिस्तरीय निर्णय गरी ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेकी थिइन् । 

सरकारले दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि ओरेन्टलका पूर्वअध्यक्ष सुधीर बस्नेतलाई बोलाएर समितिले छलफल गरेको थियो । ‘छलफलमा बस्नेतले समस्याग्रस्त घोषणा भएका कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि हाम्रै भनेका छन्’ समितिका कार्यालय प्रमुख पौडेलले भने । 

ओरेन्टलका नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौं, विराटनगर, इटहरी, भक्तपुर र ललितपुरमा गरी ९ ओटा शाखा कार्यालय स्थापना गरी बचत संकलन गरेको भेटिएको समितिको कार्यालयले जानकारी दिएको छ ।

 



Leave a comment