काठमाडौं । संघिय सरकारका दुई जना पूर्व सहकारीमन्त्रीहरु प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सहकारीमन्त्रीहरु चित्रबहादुर केसी बागलुङ– १ बाट र हृदयराम थानी सुर्खेत–२ बाट निर्वाचित भएका हुन् ।
बागलुङ क्षेत्र नं १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्रबहादुर केसी विजयी भएका छन् । उनले २१ हजार ४५१ मत प्राप्त गर्दा उनका निकटत प्रतिद्धन्द्धी नेकपा एमालेको सूर्य प्रसाद पाठकले १८ हजार ८२५ मत पाएका छन् ।
केपी शर्मा ओलीको सरकारमा सहकारी तथा गरिबी निवारणसँगै उपप्रधानमन्त्री समेत भएका केसी सहकारी मन्त्रीका रुपमा काम गर्दा सहकारी ऐनका विषयमा अभियानसँगको विवादका कारण चर्चामा छ ।
यसैगरी केसीपछि सहकारी मन्त्री बनेका नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७३ मा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहकारी मन्त्री भएका थानीको प्रतिस्पर्धा पनि सहकारीकर्मीसँगै भएको छ । थानी ३४ हजार ६२५ मतका साथ विजयी हुँदा एमालेका उम्मेदवार अमृत विसीले २९ हजार ५५८ मत ल्याएका छन् । विसी उनी जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष पनि हुन् ।
यसैगरी लोकतान्त्रिक समाजवादी दलबाट पर्सा क्षेत्र नं १ मा उम्मेदवारी दिएका अर्को पूर्व सहकारीमन्त्री लक्ष्मणलाल कर्ण भने पराजित भएका छन् । यस्तै निर्वाचनमा होमिएका पूर्व सहकारीमन्त्रीहरु पद्मा कुमारी अर्याल, चक्रपाणी खनाल, लिलानाथ श्रेष्ठको भने नतिजा सार्वजनिक भएको छैन ।
Leave a comment