काठमाडौं । सहरी क्षेत्रका सहकारी संस्थाहरुले सदस्यको बचत समेत फिर्ता गर्न नसकिरहेका बेला समुदायमा आधारित र सदस्य केन्द्रीत संस्थामा भने तरलताको अवस्था सहज देखिएको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्ता संस्थाहरुमा तरलताको अवस्था २७ प्रतिशतसम्म रहेको छ ।
समुदायमा आधारित रहि सदस्य केन्द्रीत भई संचालन गर्ने सहकारीहरुले सदस्यबाट नियमित बचत संकलन गर्ने भएकाले पनि तरलताको समस्या नभएको सहकारीका संचालकहरुको भनाइ छ । तर, सहरी क्षेत्रमा संचालित सहकारीहरु समस्याग्रस्त हुँदा त्यसको प्रभाव पर्न थालेको उनीहरु बताउछन् ।
चन्द्रागिरी साकोस
काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारीले कात्तिक मसान्तमा तरलता २७.२७ प्रतिशत रहेको जनाएको छ । असोजको तुलनामा संस्थाको तरलता थोरै घटेपनि अवस्था सहज देखिएको छ । असोजमा संस्थाको तरलता २८.९६ प्रतिशत रहेको छ ।
कात्तिकसम्ममा संस्थाको कुल बचत २ अर्व ४० करोड ८३ लाख, ऋण लगानी एक अर्व ९५ करोड ३१ लाख रुपैयाँ रहेको छ । १५ हजार ६४७ सदस्य रहेको संस्थाले २ हजार १७५ जनालाई लगानी गरेको जानकारी दिएको छ ।
विकू साकोस
नवलपरासीस्थित विकू बचत तथा ऋण सहकारी संस्थामा कात्तिक मसान्तमा तरलता १ अर्ब ४५ करोड ५८ लाख ४१ हजार अर्थात २०.३४ प्रतिशत तरलतारहेको छ । संस्थाले प्रकाशित गरेको कार्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कूल सम्पत्ती ९ अर्ब १ करोड, सेयर पुँजी ९१ करोड ४६ लाख, जगेडा कोषमा ५० करोड ५१ लाखर अन्य कोषहरुमा १२ करोड ३१ लाख पुगेको छ।कार्तिक मसान्तसम्ममा संस्थाले ७ अर्ब १५ करोड ६० लाख बचत संकलत तथा ७ अर्ब १५ करोड ४२ लाख ऋण लगानी गरेको छ ।
बिन्धवासिनी साकोस
काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा कार्तिक महिनामा तरलता १८.१९ प्रतिशत रहेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म शेयरपुँजी ४५ करोड ७२ लाख, जगेडा कोष ३० करोड ९० लाख ५० हजार, विभिन्न कोष १५ करोड २८ लाख रहेको छ । त्यस्तै कुल बचत ३ अर्ब ५ करोड ९२ लाख र लगानी३ अर्ब ५७ करोड १३ लाख रहेको संस्थाले जानकारी दिएको छ ।
जनउत्थान साकोस
रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा तरलता १९.४५ प्रतिशत रहेको छ । कार्तिक महिनाको वित्तीय विवरण अनुसार संस्थाको शेयरपुँजी २९ करोड १३ लाख, कुल बचत २ अर्ब ३८ करोड ६८ लाख र ऋण लगानी २ अर्ब ५२ करोड ५ लाख पुगेको छ । संस्थामा ३८ हजार ४ सय २० जना सदस्य रहेकोमा ९ हजार ९ सय ५० जनाले ऋण लिएकोे संस्थाले जनाएको छ।
पोखरा रोयल साकोस
कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा कात्तिक महिनाममा तरलता रकम १७.०७ प्रतिशत कायम रहेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म शेयरपुँजी २१ करोड ७ लाख, कुल बचत १ अर्ब ६१ करोड ८० लाख र ऋण लगानी १ अर्ब ८० करोड ८७ लाख पुगेको छ । संस्थामा ८ हजार ६ सय ६९ जना सदस्य रहेकोमा १ हजार ५ सय २३ जनाले संस्थाबाट ऋण लिएको संस्थाले जनाएको छ ।
Leave a comment