काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई तरलता अभावको समस्याले बचत फिर्ता गर्न नसकिरहेका बेला केन्द्रीय संघ तथा बैंकले भने कर्जा प्रवाह घटाएर तरलता बढाउने रणनीति अवलब्बन गरेका छन् । वित्तीय क्षेत्रमा तरलता अभावको अवधि बढ्दै जाँदा संघहरु नै अप्ठेरोमा पर्न थालेपछि उनीहरुले नयाँ कर्जा नदिने र पुराना कर्जा असुल गरेर भएपनि तरलता बढाउन थालेका हुन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) तथा राष्ट्रिय सहकारी बैंकले प्रकाशित गरेको कात्तिक महिनाको वित्तीय विवरणमा तरलताको अवस्था बृद्धि भएपनि दुवै निकायले ऋण असुलीमा जोड दिएको पाइएको छ । संघ तथा बैंकमा प्रारम्भिक संस्थाहरुबाट दवाव भएपनि कर्जा प्रवाहमा कडाइ गरिरहेका छन् ।
असोज मसान्तको १८.१६ प्रतिशत तरलता रहेको नेफ्स्कूनको कात्तिकमा भने २४.१४ प्रतिशत पुर्याएको छ । यस अवधिमा संघको कर्जा लगानी १२ करोड ४५ लाख घटाएको छ । असोजमा संघको कर्जा १५ अर्व ३७ करोड ७९ लाख २९ हजार रुपैयाँ रहेकोमा कात्तिकमा १५ अर्व २५ करोड ३४ लाख २२ हजार रुपैयाँमा झारेको छ ।
यसैगरी एक महिनामा सहकारी बैंकले पनि कर्जा प्रवाह ४७ करोड ७४ लाख ७७ हजार घटाएको छ । असोज मसान्तमा बैंकको कुल कर्जा प्रवाह ३५ अर्व ५७ करोड ९६ लाख ९६ हजार रहेकोमा कात्तिकमा घटेर ३५ अर्व १० करोड २२ लाख १९ हजारमा झारेको छ ।
नेफ्स्कून र बैंक दुवैमा असोजको तुलनामा कात्तिकमा निक्षेप रकम पनि बृद्धि भएको छ । तर दुवै संस्थामा निक्षेप बृद्धिका कारण भन्दा पनि कर्जा घटाएरै तरलता वृद्धि गरेको देखिन्छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल वित्तीय बजारलाई हेरेर तरलताको मजबुत बनाइएको बताउछन् । ‘अहिले अति आवश्यक परेका संस्थाबाहेकलाई कर्जा दिएका छैनौं’ उनले भने, ‘यो अवस्थामा संघ पनि मजवुत भएर बस्नुपर्छ भनेर तरलता बृद्धि गरेका छौं ।’
प्रारम्भिक संस्था समस्यामा पर्दा पनि संघहरुले सहयोग नगरेको भन्दै केहि समयअघि काठमाडौंका सहकारीहरुले संघविरुद्ध आन्दोलन समेत घोषणा गरेका छन् ।
Leave a comment