काठमाडौं । सहकारी संस्थाको रकम ठगीको आरोप लागेका व्यक्ति नै मंसिर ४ गते हुन लागेको चुनावमा उम्मेदवार बनेको पाइएको छ । नेपालगञ्ज–४ स्थीत सहकारी वित्तीय विकास संस्थाको रकम ठगीको आरोपमा मुद्दा खेपिरहेका अम्बरबहादुर खड्का र विजयकुमार पाठक प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएका हुन् । खड्का बाँके क्षेत्र नं. १ (क) र पाठक बाँके क्षेत्र नं. ३ (ख) बाट जनता समाजवादी पार्टीको सिफारीसमा उम्मेदवार भएका हुन् ।
आफुहरुको रकम ठगी गर्ने व्यक्ति प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेपछि पिडित बचतकर्ताहरु भने आन्दोलित भएका छन् । सहकारी ठगीको आरोपमा मुुद्दा खेपिरहेका व्यक्तिको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै निर्वाचन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
सहकारीको ४३ करोड रुपैयाँ ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा खड्का र पाठकलगायत ४१ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । प्रहरी अनुसन्धानको क्रममा बाँके कारागारमा केही महिना थुनुवाका रुपमा बिताएर खड्का र पाठक अदालतको आदेश अनुसार जनही २५ / २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
सहकारी पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाको नेतृत्वमा पीडितहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । बाँके क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले यस विषयमा अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सहकारीको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँके जिल्ला अदालतमा खड्का र पाठकसहित ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा ठगी तथा संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ । सहकारीबाट ११ हजार ४०८ जना बचतकर्ता पिडित छन् । आफ्नो रकम पाउनुपर्ने भन्दै पीडितहरु तीन वर्षदेखि पटक पटक आन्दोलित हुँदै आएका छन् ।
Leave a comment