हाइलाइट

काठमाडौं महानरपालिकामा सहकारी क्षेत्र हेर्न छुट्टै समिति

काठमाडौं महानरपालिकामा सहकारी क्षेत्र हेर्न छुट्टै समिति :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानरपालिकाले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले छुट्टै सहकारी समिति बनाउने निर्णय गरेको हो ।  

महानगरले सहकारीका लागि छुट्टै विभाग बनाएपनि हालसम्म छुट्टै समिति भने बनाएको थिएन । हालसम्म सामाजिक समितिले नै सहकारी क्षेत्रलाई पनि हेर्दै आएको थियो ।

सहकारीको अनुगमन प्रभावकारी बनाउनका लागि छुट्टै समिति बनाउन लागिएको मेयर बालेन्द्र शाहाले जानकारी दिए । सहकारीको ब्यालेन्ससिट समेत हेर्नुपर्ने भएकाले समितिमा चाटर्ड एकाउन्टेन्टलाई विज्ञका रुपमा राख्न सकिने उनले बताए । 

समितिले सहकारीको अनुगमनका लागि कार्यविधि बनाउने, संस्थाहरुले नियमन अनुसार काम गरेको नगरेको विषयमा अनुगमन गर्ने तथा सहकारी विभागसँग समन्वय गर्नेछ । 

काठमाडौं महानगरपालिकाको नियमनमा करिब एक हजार ९ सय सहकारीहरु संचालनमा छन् । तर, अहिलेसम्म महानगरले पनि सहकारीको नियमन प्रभावकारी बनाउन सकेको छैन ।

महानगर सहकारी शाखा प्रमुख देवेन्द्र पोखरेल छुट्टै समिति बनेपछि समन्वय गर्न सजिलो हुने र काम पनि प्रभावकारी हुने उनले बताए । छुट्टै समिति बनेपछि विभागको काम गर्नका लागि सजिलो हुने उनको भनाइ छ ।

यसअघि  महानगरपालिकाले सहकारीको दर्ता तथा नविकरण अनलाईनबाट गर्न मिल्ने ब्यवस्था गर्ने घोषणा गरेको थियो । मेयर शाहले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी संस्थाको दर्ता, नबिकरण कार्यलाई विद्युतिय प्रणालीमा आबद्ध गरिने घोषणा गर्ने, बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम ब्यबस्थापनका लागि अनुगमन संयन्त्र गठन गरी परिचालन गरिने समेत उल्लेख गरेका थिए । 

काठमाडौं सबैभन्दा धेरै सहकारीको चाप भएको स्थानिय तहको हो । यसैगरी सबैभन्दा बढि समस्याग्रस्त सहकारीहरुपनि यसै पालिका अन्र्तगत रहेका छन् । 

मेयर शाहले सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गर्ने, संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसंगको समन्वयमा प्रभावकारी ब्यबस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गर्ने समेत घोषणा गरेपनि काम अघि बढ्न सकेको छैन । 



Leave a comment