काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । ब्याजदरमा विषयमा आएको दवाव र निक्षेप बृद्धि हुन नसकेपछि नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले मंसिरमा कात्तिकै ब्याजदर लागू गर्ने निर्णय गरेको हो ।
बैंकहरुले गत असोजमा ब्याजदर १० प्रतिशतले बृद्धि गरेपनि कात्तिकमा भने स्थीर राखेका थिए । अब कात्तिकमा कायम भएको ब्याजदर मंसिरमा पनि लागू हुनेछ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले हरेक महिना लागू हुने ब्याजदर अघिल्लो दिन प्रकाशित गर्नुपर्छ । बैंकहरुले एक पटकमा ब्याजदर १० प्रतिशतले घटबढ गर्न पाउने प्रावधान छ ।
भदौसम्म बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो । असोजमा १० प्रतिशतका दरले वृद्धि गरेर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसम्म पुगेको छ । जसको कारण कर्जाको ब्याज पनि १८ प्रतिशतसम्म पुगेको छ । तर, सहकारीहरुले भने कर्जामा १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने ब्यवस्थाले अप्ठेरोमा परिरहेका छन् ।
बैंकहरुले ब्याज बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन संचालकहरुले दवाव दिदै आएका छन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहमति नदिएपछि संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र पण्डितले सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक समेत बोलाएका छैनन् ।
राष्ट्रिय सहकारी महासंघले सोमबार मात्र विज्ञप्ती जारी गर्दै सन्दर्भ ब्याजदर पुनरावलोकन नहुनु दुखद् भएको उल्लेख गरेको छ । उसले सन्दर्भ ब्याजदरको प्रावधान नै खारेज गरी स्वचालित बनाउन समेत माग गरेको छ ।
Leave a comment