काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको समस्या समाधान गर्न नेतृत्व नलिएको भन्दै आन्दोलन घोषणा भएपछि राष्ट्रिय सहकारी महासंघले विज्ञप्ती जारी गरेर थामथुप पार्ने प्रयास गरेको छ ।
महासंघले सोमबार विज्ञप्ती जारी गर्दै सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न तथा सहकारी संघ÷संस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायाधीकरणको अविलम्व गठनका लागि समेत सरकारसमक्ष माग गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर बढाएपनि सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नका लागि महासंघले दवाव दिन नसकेको सहकारीका संचालकहरुको बुझाइ छ ।
अर्थ मन्त्रालयले गठन गरेको ब्याजदसम्बन्धी अध्ययन समितिले बजारको आधारमा ब्याजदर तय हुनुपर्ने सुझाव दिएपनि सहकारीमा भने क्याप लगाइएको र त्यसलाई हटाउनका लागि सहकारीका संघ महासंघले नेतृत्व लिन नसकेको सहकारीकर्मीको गुनासो छ ।
यसअघि काठमाडौंमा संचालित सहकारीका संचालकहरुले भेला गरी सहकारीका संघ महासंघविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आफुविरुद्ध आन्दोलनको घोषणा भएपछि महासंघले विज्ञप्त जारी गरेर आफ्नो दायित्व पुरा गरेको देखाएको हो ।
‘वित्त वजारमा व्याजदरमा उतारचढाव आउदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ व्याजदरले समेत थप प्रतिकुल अवस्था सिर्जना गरेको छ ।
यस परिस्थितिमा सन्दर्भ व्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउदै आएकोे भएतापनि हालसम्म सन्दर्भ व्याजदर पुनरावलोकन नहुन दुःखद कुरा हो’ महासंघ अध्यक्ष मिनराज कडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,
‘अर्थतन्त्रमा आएको यस प्रतिकुल अवस्थालाई ध्यान दिई संस्था सुसञ्चालनमा जिल्ला, प्रदेश तथा विषयगत केन्द्रिय संघहरू, राष्ट्रिय सहकारी बैंक तथा यस महासंघ क्रियाशिल रहेको आमसमुदायमा जानकारी गराउदै संस्थाप्रति सदस्यको दायित्व पालना गर्दै निर्धक्कका साथ कारोवार गर्नहुन आमसहकारीकर्मीहरूमा हार्दिक अपिल गर्दछौं ।’
सहकारीमा समस्याको नेतृत्व लिन नसकेमा आलोचित हुदै आएको महासंघको नेतृत्वले विज्ञप्तीमा प्रारम्भिक संस्थाहरुलाई भने सल्लाह सुझाव दिएको छ ।
‘सहकारी संघ/ संस्थाहरूले आफ्नो सदस्यहरूसंग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिनहुन समेत आव्हान गर्दछौं’ विज्ञप्तीमा भनिएको छ,
‘यस प्रतिकुल अवस्थामा जिल्ला तथा प्रदेश स्तरीय संघहरू, नेफ्स्कुन लगायत विषयगत केन्द्रीय सहकारी संघहरू तथा राष्ट्रिय सहकारी बैंकलाई नियमित रूपमा सदस्य संस्थाहरूसंग समन्वय र सहकार्य गरी सहजीकरण गर्नहुन समेत आव्हान गर्दछौं ।’
Leave a comment