हाइलाइट

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, दुई महिनामा पौने २ खर्ब भित्रियो 

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, दुई महिनामा पौने २ खर्ब भित्रियो  :: Sahakari Akhabar

काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस युक्रेन युद्धले आर्थिक गतिविधि प्रभावित भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक असर देखिएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । चालु आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलर महंगो हुनुका साथै बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेपछि रेमिट्यान्समा सकारात्मक प्रभाव परेको हो । चालु आवको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई  एक लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । 

रेमिट्यान्स बृद्धिले वित्तीय बजारमा देखिएको तरलता अभावको समस्यामा केहि राहत पुग्ने देखिएको छ । रेमिट्यान्स बृद्धि भएपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने र यसबाट तरलताको अवस्था पनि सहज हुने बैंकरहरुले अपेक्षा गरेका छन् । 

गत आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरु पनि तरलता अभावको समस्या भोगिरहेका छन् । तर, चालु आवलागेसँगै बैंकहरुमा भने क्रमश निक्षेप बढ्न थालेको छ । 

दशैमा बैंकिङ प्रणालीबाट निक्षेप बाहिरिएपनि दशैपछि भने पुनः बैंकमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एकसातामा मात्र २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यस अवधिमा कर्जा प्रवाह २७ अर्ब रुपैयाँ भएको संघले जनाएको छ । 



Leave a comment