काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरबारे नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनका कारण सहकारी संस्थाहरु मर्कामा पर्न थालेका छन् ।
राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धी निर्देशनमा संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अन्तर एक प्रतिशत मात्र थियो । यो प्रावधानका कारण सहकारी संस्थाहरुले निजी बैंक तथा वित्तीय संस्थामा राख्ने निक्षेपको ब्याजदर घटेको छ ।
बैंकहरुले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीका साथै सहकारी संस्थाहरुको निक्षेपलाई संस्थागत निक्षेपको रुपमा ब्याख्या गर्दै यीनीहरुको ब्याज सर्वसाधारणले पाउने भन्दा २ प्रतिशत विन्दुले कम गरेका छन् । राष्ट्र बैंकको यो ब्यवस्थाको बीमा कम्पनीका संचालकहरुले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर गुनासो गरिसकेका छन् ।
असोजमा ब्याज बढाएका बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३ प्रतिशत र संस्थागततर्फ ९.१३ प्रतिशत ब्याजदर तोकेका छन् । कात्तिकमा भने निक्षेपको ब्याजदर बृद्धि नगरेपनि बैंकको पुँजीमा लागत वृद्धि भएकाले कर्जाको ब्याजदर भने बढ्ने देखिएको छ ।
सहकारी नेताहरुले प्रारम्भिक सहकारी संस्थाहरुले सहकारी बैंक तथा संघहरुमा निक्षेप राख्न आग्रह गर्दै ‘सहकारीको पैसा सहकारीमा’ भन्ने अभियान पनि संचालन गरिरहेका छन् ।
Leave a comment