काठमाडौं । मंसिर ४ हुन लागेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा आधा दर्जन भन्दा बढि सहकारी अभियन्ता चुनावी मैदानमा देखिएका छन् । सहकारी अभियानको नेतृत्वबाट राजनीतिक पहुँच बनाएका उनीहरु विभिन्न राजनीतिक दलहरुको सिफारीसमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
हालसम्म सार्वजनिक भएका विवरणहरु अनुसार सहकारी अभियन्ताको पहिचानबाट राजनीतिमा लागेका दुई जना प्रत्यक्ष उम्मेदवार बनेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व महासचिव घनश्याम खतिवडा तथा राष्ट्रिय सहकारी महासंघका संचालक तारा लामा तामाङले संघिय सांसदको प्रत्यक्ष चुनावका लागि उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेको सिफारीसमा खतिवडाले मोरङ क्षेत्र नं १ बाट तथा तामाङले कञ्चनपुर–१ बाट संघिय सांसद्का लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् ।
यसैगरी राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र राष्ट्रिय सहकारी बैंककी संचालक अमृता सुब्बा लिम्बु एमालेको तर्फबाट संघिय सांसदका लागि समानुपातिक सूचिमा छिन् । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञान बहादुर तामाङ पनि एमालेबाटै वागमती प्रदेश सभाको सदस्यको लागि समानुपातिक सूचिमा परेका छन् । मल्ल खस आर्य, तथा सुब्बा र तामाङ आदिवासी जनजाती समूहको समानुपातिक सूचिमा छन् ।
यस्तै माओवादी केन्द्रले पनि तीन जना सहकारीकर्मीलाई समानुपातिक उम्मेदवार बनाएको छ । पार्टीले टिका बुढाथोकी तथा पार्वती थापामगरलाई संघिय सांसद तथा रञ्जना पौडेललाई वागमती प्रदेश सांसदको लागि समानुपातिक सूचिमा राखेको हो । बुढाथोकी राष्ट्रिय सहकारी महासंघ, थापामगर राष्ट्रिय सहकारी बैंक र पौडेल दुग्ध सहकारी केन्द्रीय संघकी संचालक हुन् ।
यसैगरी सहकारीकर्मी तथा कलाकार मधुसुदन पाठक (सितेबा) ले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेर प्रचार प्रसारमा व्यस्त छन् ।
राजनीतिक दलका स्थानिय तथा जिल्ला तहहरुबाट संघ र प्रदेशको सांसदका लागि सिफारीमा परेका धेरै सहकारीकर्मी उम्मेदवारका लागि भने पार्टीको छनोटमा पर्न सकेनन् । सिफारीसमा परेपनि पार्टीबाट टिकन नपाएका सहकारी अभियान्ताहरुमा दक्ष पौडेल, सीताराम काफ्ले र इन्दिरा पन्त, केदार मानन्धर, जीवसराज खड्का, जगतलाल महर्जन, मनोज थापा मगर, सिवी लामालगायत रहेका छन् ।
Leave a comment