काठमाडौं । असोज महिनामा भद्र सहमति खारेज गर्दै निक्षेपमा १० प्रतिशत ब्याजदर बृद्धि गरेका बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर नबढाउने भएका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर यथावत राख्ने निर्णय गरिसकेको छ भने डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एसोसिएसनले भने निर्णय गर्न बाँकी छ ।
बैंकहरुले अब कात्तिकमा असोजमा कायम व्याजदर नै लागू गर्नेछन् । असोजमा बाणिज्य बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर तय गरेका थिए ।
यस्तै विकास बैंकहरुले ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म र फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर पु¥याएका थिए ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न संचालकहरुले सरकारलाई दवाव दिएका थिए । भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले सरकार बैंकहरुको बढेको ब्याज घटाउन लागेको भन्दै सहकारीको बढाउन नसकिने जवाफ दिएका थिइन् ।
बैंकको ब्याज घटाउनकै लागि अर्थमन्त्री जनादर्न शर्माले गठन गरेको सुझाव समितिले भने ब्याजदर निर्धारण स्वतन्त्र छोड्न सुझाव दिएको छ ।
बैंकहरुले बचतमा ब्याज नबढाएपनि कर्जाको ब्याजदर भने कात्तिकबाट बृद्धि हुनेछ । बैंकहरुले त्रैमासिक रुपमा आधारदरका आधारमा ब्याजदर पुनरावलोकन गर्ने भएकाले असोजमा बैंकहरुको पुँजीको लागत (कष्ट अफ फण्ड) बृद्धि हुँदा आधारदर समेत बढ्ने भएकाले कर्जाको ब्याजदर महंगो हुनेछ ।
बैंकहरुले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेपछि सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनको विषय पनि अन्योलमा परेको छ । सहकारीको संचालकले दवाव दिएपनि सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक समेत बस्न सकेको छैन । सहकारी मन्त्री नै ब्याजदर बढाउन नहुने पक्षमा भएपनि समितिका संयोजक समेत रहेका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले समितिको बैठक बोलाउन नै आनाकानी गरिरहेका छन् ।
गत फागुन १३ गते समितिको बैठक बसेर सन्दर्भ ब्याजदर १४.७५ प्रतिशतबाट १६ प्रतिशत पुर्याएको थियो । समितिले प्रत्येक ४–४ महिनामा बैठक बसेर ब्याजदर पुनरावलोकन गर्ने निर्णय गरेपनि ७ महिना वित्न लाग्दा पनि बैठक बस्न सकेको छैन ।
Leave a comment