काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरुले दावी गरेपनि उनीहरु राजनीतिक पार्टीको प्राथमिकतामा भने पर्न सकेनन् । सहकारी संघसंस्थाको नेतृत्व हुँदै सामाजिक तथा राजनीतिक रुपमा पहुँच बनाएकै कारण राजनीतिक दलका स्थानिय तथा जिल्ला तहहरुले संघ र प्रदेशको सांसदका लागि सहकारीकर्मीलाई सिफारीस गरेपनि पार्टीको छनोटमा भने पर्न परेनन् ।
सामाजिक संजालमा सार्वजनिक विवरण अनुसार सहकारी अभियान्ताहरु दक्ष पौडेल, सीताराम काफ्ले र इन्दिरा पन्त, केदार मानन्धर, जीवसराज खड्का, जगतलाल महर्जन, मनोज थापा मगर, सिवी लामालगायतका सहकारीकर्मीहरु प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि सिफारीस भएका थिए । तर उनीहरु उम्मेदवारमा पार्टीबाट भने छनोट हुन सकेनन् ।
राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष तथा हब कोअपरेटिभका अध्यक्ष पौडेल काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावका लागि सिफारिसमा परेका हुन् । पौडेलसहित ७ जनालाई कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको हो । अघिल्लो चुनावमा पनि टिकटको चर्चामा रहेका उनले यसपटक पनि प्राथमिकता पाएनन् ।
यस्तै उपभोक्ता केन्द्रीय सहकारी संघका पूर्व महासचिव सीताराम काफ्ले काठमाडौं क्षेत्र नम्बर ५ को सांसदका लागि सिफारिस भएपनि केन्द्रीय समितिको छनोटमा पर्न सकेनन् । काठमाडौं क्षेत्र नं ७ बाट संघिय सांसदका लागि सिफारीसमा परेकी रोयल बहुउद्देश्यीय सहकारीकी उपाध्यक्ष इन्दिरा पन्त पनि केन्द्रीय कमिटिको छनोटमा पर्न सकिनन् । यसअघि स्थानिय तहको चुनावमा पनि काठमाडौंको मेयरका लागि उनको नाम सिफारीस भएको थियो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर काठमाडौं क्षेत्र नम्बर ८ (ख) मा प्रदेशसभा सदस्यका लागि सिफारिस भएपनि टिकट पाएनन् । टिकट नपाएपछि उनले सामाजिक संजालमा आफ्नो योग्यता नपुगेको भन्दै व्यंग्य गरेका छन् ।
बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन ललितपुर क्षेत्र नम्बर ३ प्रदेश (क) को उम्मेदवार सिफारिस परेपनि टिकट नपाएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
यसैगरी अघिल्लो चुनावमा पराजित भएका पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिवि लामा पनि यसपटक पार्टीको प्राथमिकतामा पर्न सकेनन् । उनी काभ्रे-१ (क) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका थिए ।
Leave a comment