काठमाडौं । सहकारीकर्मी तथा कलाकार मधुसुदन पाठक (सितेबा) प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले आईतबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
गोंगबुस्थित जेष्ट बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक रहेका पाठक हास्य टेलिशृंखला ‘सक्किगो नि’ मा सितेबा को भूमिकाबाट समेत प्रख्यात छन् । स्वतन्त्र लौरो अभियानमा आवद्ध भई उम्मेदवारी दर्ता गरेका पाठक निर्वाचन कार्यालयमा समेत राष्ट्रिय झण्डा ओढेर पुगेका थिए ।
पाठकले सामाजिक संजालमार्फत बेथिति, राजनीतिक अराजकता, शासन र सत्ताको चरम दुरुपयोगका बिरुद्ध - सुशासन, बिकास निर्माण, सामाजिक सद्भाव सहितको एकिकरण, भष्ट्राचार रहित समाज, पुँजी र श्रमको एकिकरण र उचित परिचालन, कला संस्कृति र सम्पदाको संरक्षण सहित सभ्य र बौद्धिक समाज निर्माणका लागी उम्मेदवारी दिएको बताएका छन् ।
यस्तै पाठकले उद्यमशिलताको माध्यमबाट राष्ट्रलाई कर तिरीरहेको, तिन हजार भन्दा बढीलाई रोजगारी दिईरहेको उल्लेख गर्दै अरु नेता जस्तो राज्यको ढुकुटीबाट अपचलन गर्ने र जनतालाई गुम्राहमा राखेर जनताको रगत पसिनाको कमाईबाट अपचलन गर्नेहरुका बिरुद्ध खरो उपस्थिति रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
Leave a comment