काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक केबी उप्रेती दोलखामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले प्रदान गर्ने ‘जनसचेतन सहकारी अभियन्ता’ पुरस्कारबाट सम्मानित भएका छन् । संस्थाको ३० औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घरानीले उप्रेतीलाई पुरस्कार प्रदान गरे । नेपालको सहकारी अभियानको प्रवद्र्धन विकासमा महत्वपूणर् योगदान पुर्याउने राष्ट्रिय व्यक्तिलाई प्रदान गर्ने पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।
संस्थाको रजत जयन्तीको अवरमा २०७४ सालमा पुरस्कार स्थापना गरिएको हो । यस पुरस्कारबाट यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्षद्धय केशव प्रसाद बडाल र दीपक प्रकाश बास्कोटा सम्मानित भइसकेका छन् ।
स्थापना दिवस कार्यक्रममा बोल्दै प्रमुख घतानीले सहकारीले वचत र ऋणको कारोबारसंगै उत्पादनमा लाग्न सुझाव दिए । विपन्न वर्गको जीवनस्तर रुपान्तरण गर्न सकेमात्र सहकारीको उद्देश्य पुरा हुने भन्दै सहकारीले उद्योग र वजारीकरणका नयाँ विधामा कामको थालनी गर्नुपर्ने बताए ।
सम्मानित व्यक्तित्व उप्रेतीले दोलखालाई सहकारीको नमूना जिल्ला बनाउन जनसचेतनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । बैत्यश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले सहकारी र सरकारको लक्ष्य एउटै भएको भन्दै दुबैबीच हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक जीवसराज खड्काले वित्तीय परिचालनसँगै सुशासन र व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । संस्थाले संस्थाका सल्लाहकार समेत रहनु भएका स्वर्गीय पशुपति चौलागाईको परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । जनसचेतन पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी निर्मला शिवाकोटी (विनिता) , वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट पुरुषतर्फ सुचना तथा प्रविधि अधिकृत रमेश लामिछाने र महिला तर्फ कालिञ्चोक गाउँपालिका बाबरे सेवा केन्द्रकी लक्ष्मी थापा सम्मानित भएका छन् ।
जनसचेतनका १६ सेवा केन्द्रमध्ये मिर्गे सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्रको रुपमा सम्मानित भएको छ । उक्त सेवा केन्द्रमा सबै महिला कर्मचारी रहेका छन् ।
संस्थाले स्थापना दिवसको अवसर पारेर सामुदायिक विद्यालयको तर्फबाट ३.८० जिपिए ल्याएर उत्कृष्ठ स्थान हासिल गर्ने हनुमन्तेश्वर माध्यमिक विद्यालयका आदेश दहाल र छात्रा तर्फ ३.७५ जिपिए ल्याएर उत्कृष्ठ अंक ल्याउन सफल सोही विद्यालयकी पूर्णिमा मिजारलाई सम्मान गरेको छ ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले दोलखासंगै काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौ जिल्लाभर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्लामा सेवा क्षेत्र बिस्तार गरेको छ । सहकारीमा गत आर्थिक वर्षको असार मसान्त सम्म ३६ हजार २ सय ५४ जना सदस्य कुल पुँजी २ अर्व १८ करोड ६९ लाख पुगेको छ ।
Leave a comment