काठमाडौं । बैंक तथा सहकारी संस्थाहरुले दृष्टिबन्धक राख्ने जग्गाको नक्सा लिन नापी कार्यालय धाउन नपर्ने भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले संचालनमा ल्याएको ‘मेरो कित्ता प्रणाली’मार्फत् बैंक तथा सहकारीहरुले अनलाइनबाटै यो सेवा लिन पाउने भएका छन् ।
नापी विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुले नापी विभागको अनलाईन सेवा उपभोगका लागि मेरो कित्ताप्रणालीको यूजर एकाउन्ट लिनुपर्नेछ । त्यसपछि ‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को ब्यवस्था अनुसार निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत् कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने ब्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले भने विहिबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ग्राहकहरुको जग्गाको नक्सा सम्बन्धी विवरणहरु नापी विभागले संचालन गरेको ‘मेरो कित्ता प्रणाली’मार्फत् लिन निर्देशन दिएको छ । सहकारी विभागले सर्कुलर जारी नगरेपनि बैंकले जस्तै सेवा लिन सक्ने रजिष्ट्रार रुद्र प्रसाद पण्डितले जानकारी दिए ।
हालसम्म बैंक तथा वित्तीय संस्था र सहकारीहरुको पत्रका आधारमा आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाएपछि मात्र नापी कार्यालयले एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो । नापी विभागले केहि समयअघि मेरो कित्ता अनलाईन प्रणाली सुरु गरेको थियो । यसमार्फत सर्वसाधारणले आफ्नो नापी नक्सा हेर्न सक्ने सुविधा दिएको छ ।
Leave a comment