नयाँ नोटसँगै जतन गर्न पनि सचेतना जगाउँदै सहकारी 

नयाँ नोटसँगै जतन गर्न पनि सचेतना जगाउँदै सहकारी  :: Sahakari Akhabar

काठमाडौं । दशै सुरु भएसँगै सदस्यहरुलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराएका सहकारीहरुले यसलाई जतनसाथ प्रयोग गर्न सचेत गराउन थालेका छन् । सहकारीहरुले सामाजिक संजालमार्फत सदस्य तथा सर्वसाधारणलाई नोटमा केरमेट नगर्न, पुजा नगर्न, नभिजाउनका साथै विद्युतिय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका हुन् । 

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सामाजिक संजाल फेसबुकमार्फत नोटमा रंग नलगाउन, केरमेट नगर्न, पुजापाठ गर्दा पानी, अविर तथा तेलबाट नोटलाई जागाउन आग्रह गरेको छ । दशैंको टिका लगाउने समयमा दक्षिणा दिँदा पैसामा टिका जमरा राख्ने चलन रहेको र यसबाट नोट छिट्टै बिग्रने भन्दै बानी परिवर्तन गरि असल नागरिक को परिचय दिन समेत संस्थाले अनुरोध गरेको छ । 

नेपालीहरुले पनि चाडपर्वमा पुजाआजा र दक्षिणका लागि नयाँ नोट प्रयोग गर्ने भएकाले बजारमा रु पाँच, १०, २०, ५० र एक सय रुपैयाँका नोटको माग उच्च छ । राष्ट्र बैंकले सर्वसाधारणलाई रु पाँच, १०, २०, ५० र एक सय रुपैयाँका नोटका एक÷एक वण्डल गरी १८ हजार ५ सय रुपैयाँ सहटी सुविधा दिएको छ भने बैंक तथा सहकारीहरुले भने आफुसँग उपलब्धताको आधारमा सदस्यहरुलाई नयाँ नोट सटही सेवा उपलब्ध गराउने गरेका छन् । 

सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून) ले नयाँ नोट उपलब्ध गराएका छन् । यसैगरी संस्थाहरुले आफुले कारोबार गर्ने निजी बैंकबाट समेत नयाँ नोट ल्याएर सदस्यहरुलाई उपलब्ध गराएका छन् । 
नोट छपाई तथा ब्यवस्थापन गर्दै आएको राष्ट्र बैंकले सफा नोट नीति लागू गर्दै नोटमा केरमेट नगर्न, नभिजाउन, स्चीच नगर्न तथा पुजा नगर्न जस्ता विषयमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । राष्ट्र बैंकले पनि दशैको मुखमा गरेको भिडियो सामाग्रीमार्फत दक्षिणा दिदा नोटमा पुजा नगर्न, नभिजाउन, केरमेट नगर्न आग्रह गरेको छ । 

राष्ट्र बैंकका अनुसार २०७९ असारमा ५ खर्ब ५ अर्व ९० करोड बराबरको नोट बजारमा चलनचल्तीमा रहेको छ । २०७८ असारमा बजारमा चलन चल्तीमा ५ खर्ब ७१ अर्व ९६ करोड बराबरको नोटहरू थिए । विद्युतिय कारोबार बढ्दै जाँदा बजारमा चलनचल्तीका नोट भने घट्दै गएको छ ।

हाल बजारमा मासिक आधा खर्ब रुपैयाँ भन्दा बढि विद्युतिय माध्यमबाट कारोबार हुने गरेको राष्ट्र बैंकले जनाएकाे छ ।

 



Leave a comment