काठमाडौं । तरलता अभावको कारण यतिबेला सहकारी संस्थाहरुलाई ऋण असुलीमा समस्या बढ्दै गएको छ । पर्याप्त प्रक्रिया नपु¥याइ, सदस्यहरुको व्यवसायीक योजनाको विश्लेषण नगरी लगानी गर्दा त्यस्तो ऋण खराब हुन थालेको छ ।
आर्थिक मन्दी र वित्तीय क्षेत्रमा नै तरलता अभाव रहेकाले ऋण असुलीमा समस्या रहेको भन्दै लगानीमा बिचार पु¥याउन सहकारीका नेताहरुले आग्रह गर्न थालेका छन् । सदस्यलाई परामर्श र विश्लेषण गरेमा मात्र लगानी गर्नपर्ने उनीहरुको सुझाव छ ।
बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी पोखरामा आयोजित तालिममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले ऋण लगानी गर्दा सदस्यलाई ऋण परामर्श र ऋणको बिश्लेषण गरेर लगानी गर्दा ऋणको भाखा नाघ्ने समस्या कम हुने बताए ।
नेफ्स्कूनकका निवर्तमान सञ्चालक तथा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले ऋण असुली प्रक्रियामा भन्दा ऋण लगानी प्रक्रिया नीति र बिधिमा रहेर गर्दा समस्या नआउने बताए । ‘असुली प्रक्रिया भन्दा लगानी प्रक्रियामै ध्यान पु¥याउनुहोस्’ उनले भने, ‘समस्या आएपछि समाधानको उपाय खोज्नुभन्दा समस्यै आउन नदिनु राम्रो हो ।’
नेफ्स्कून पोखरा फिल्ड कार्यालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ७५ जना साकोस प्रतिनिधिहरु सहित कुल ८३ जनाको सहभागिता रहेको थियो ।
तालिममा नेफ्स्कूनका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारीले कानुनी प्रक्रियामा रहेर ऋण असुली तथा धितो लिलामीका प्रभावकारी उपाय, धितो लिलामी प्रक्रिया, धितो सकार गर्ने प्रक्रिया, कालो सूचि, सहकारी नीति तथा ऐनहरूको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
Leave a comment