सन्दर्भ ब्याजदरको भद्र अवज्ञा गर्न सहकारी ब्यवस्थापकको दवाब 

सन्दर्भ ब्याजदरको भद्र अवज्ञा गर्न सहकारी ब्यवस्थापकको दवाब  :: Sahakari Akhabar

काठमाडौं । सहकारीका ब्यवस्थापकहरुले सन्दर्भ ब्याजदरलाई भद्र अवज्ञा गर्न नेतृत्वलाई दवाब दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज बढाएको एक सातासम्म पनि सन्दर्भ ब्याजदर पुनरावलोकन हुने सम्भावना नदेखिएको भन्दै उनीहरुले सहकारी महासंघले भद्र अवज्ञाको निर्णय गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले मंगलबार सहकारीका ब्यवस्थापकहरुसँग गरेको भर्चुअल छलफलका सहभागिहरुले महासंघले तत्काल भद्र अवज्ञाको निर्णय गर्नुपर्ने बताए । चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सन्दर्भ ब्याजदर पुनरावलोकन नहुँदा सहकारीको भविश्वमै प्रश्न चिन्ह खडा भएको भन्दै महासंघको नेतृत्वले भद्र रुपमा अवज्ञा गर्ने निर्णय गर्नुपर्ने बताए ।

छलफलमा महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङले सन्दर्भ ब्याजदर पुनरावलोकन नभए संचालकहरुले भद्र अवज्ञाको निर्णय गर्नुपर्ने प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावमा अधिकांश सहभागिहरुले सहमति जनाएका थिए । उनले मंगलबार बसेको प्राविधिक उपसमितिको बैठकमा पनि सन्दर्भ ब्याजदर पुनरावलोकन नभए भद्र अवज्ञा गर्ने स्थितीमा पुग्ने बताएको छलफलमा जानकारी दिइन् ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले भने ब्याजदर पुनराबलोन नभएसम्म छोटो अवधिको लागि भएपनि महंगो ब्याजदरमा बचत उठाउन सकिने सुझाव दिए । छलफलमा सहभागी ब्यवस्थापकहरुले सहकारीको छवि विग्रदै गएको र जसका कारण सहकारीमा बचत आउन छाडेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

सहकारीको इमेज सुधार्नका लागि समेत महासंघलगातका संघहरुले काम गर्नुपर्ने उनीहरुको सुझाव थियो । चैतयता कायम गर्दै आएको ‘भद्र सहमति’ हटाएपछि बैंकहरुले असोजका लागि १० प्रतिशतसम्म ब्याज बढाएका छन् । बैंकको ब्याज बढेपछि सहकारीबाट निक्षेप बैंकमा जाने भन्दै सन्दर्भ ब्याज बढाउन विभागलाई दवाव दिदै आएका छन् ।

विभागले भने दवावमा नभई तथ्यांकमा आधारमा मात्र सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सकिने बताएको छ । मंगलबार नै बसेको प्राविधिक उपसमितिको बैठकले समेत बजारमा कायम रहेको ब्याजदर विश्लेषण पछि मात्र समितिलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।



Leave a comment