सन्दर्भ ब्याजदर पुनरावलोकन अघि बजार विश्लेषण गर्दै विभाग 

सन्दर्भ ब्याजदर पुनरावलोकन अघि बजार विश्लेषण गर्दै विभाग  :: Sahakari Akhabar

काठमाडौं । सन्दर्भ ब्याजदरको पुनरावलोकन गर्न दवाव बढेपछि सहकारी विभागले बजारको ब्याजदरबारे विश्लेषण गर्ने भएको छ । सन्दर्भ ब्याजदरबारे सुझाव दिन सोमबार बसेको प्राविधिक उप–समितिको बैठकले बजारमा कायम ब्याजदरको विश्लेषण गर्ने निर्णय गरेको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले जानकारी दिए ।

उपसमितिको अर्को बैठकमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनले बजारको विश्लेषण गरी ब्याजदरको आधार प्रस्तुत गर्ने र त्यसपछि मात्र प्रतिवेदन बनाउने सहमति भएको उनले जानकारी दिए । ‘प्राप्त तथ्यांकका आधारमा छलफल गर्नेगरी जिम्मेवारी दिइयो’, उपाध्यायले भने, ‘राष्ट्र बैंकबाट पनि आधार लिएर केही दिनभित्र निचोडमा पुग्छौं ।’

प्राविधिक समितिले विभिन्न कोणबाट अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ । उक्त प्रतिवेदन रजिष्ट्रारको संयोजकत्वमा हुने ब्याजदर निर्धारण समितिमा दिइने उपाध्यायले बताए । समितिले उक्त प्रतिवेदनका आधारमा ब्याजदर पुनरावलोकन गर्ने छ  ।

राष्ट्र बैंकले अघिल्लो महिनाको मात्रै ब्याजदरको विवरण दिने गरेको छ । तर, असोज १ गतेदेखि भद्र सहमति तोड्दै बैंकहरुले ब्याज बढाएका छन् । जसले गर्दा सहकारीको निक्षेप बैंक तथा वित्तीय क्षेत्रमा जान थालेको बताइएको छ । उपरजिष्ट्रार उपाध्याय आधिकारिक तथ्यांक नआएसम्म बजारको मात्र हेरेर निर्णय गर्न नसकिने बताउँछन् ।

बैठकमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल पुगेका थिए । उनीहरुले अर्को बैंठकमा आफ्नो तर्फबाट हुने ब्याजदरको विषयमा अध्ययन गरी बैठकमा पेश गर्नेछन् ।



Leave a comment