बैंकमा साधारण बचतको ब्याजदर नै दोहोरो अंकमा, सहकारीलाई दवाव  

बैंकमा साधारण बचतको ब्याजदर नै दोहोरो अंकमा, सहकारीलाई दवाव   :: Sahakari Akhabar

काठमाडौं । बैंकहरुले असोज महिनाका लागि ब्याजदर एक प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि गरेका छन् । विहिबार नेपाल बैंकर्स संघले ६ महिनादेखि कायम भद्र सहमति हटाउने निर्णय गरेसँगै बैंकहरुले शुक्रबार सूचना जारी गर्दै बचत तथा मुद्दतिको ब्याजदर बढाएका हुन् । 
बैंकहरुले ब्याजदर बढाएसँगै सहकारी संस्थाहरुमा थप दवाव पर्ने भएको छ । सामान्यता सहकारीहरुले बैंकमा भन्दा बढि ब्याज दिएर निक्षेप आकर्षित गर्दै आएका छन् ।

तर, सहकारीले कर्जा लगानी गर्दा सन्दर्भ ब्याजदरभन्दा बढिमा गर्न नपाइने ब्यवस्थाका कारण बचतमा ब्याजदर बढाउन अप्ठेरो भएको सहकारीका संचालकहरु बताउछन् । ‘सन्दर्भ ब्याजदर नबढेसम्म बचतको ब्याजदर धेरै बढाउने ठाउ छैन’ एक सहकारीका संचालकले भने, ‘ब्याजदर नबढाए अहिले भएको निक्षेप पनि जोगाउन सक्ने अवस्था छैन ।’

पछिल्लो पटक गत फागुन १३ गते बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको थियो । उक्त बैठकले नै प्रत्येक चार–चार महिनामा समितिको बैठक बसेर ब्याजदरलाई पुनरावलोकन गर्ने निर्णय गरेपनि ६ महिना वितीसक्दा पनि बैठक बस्न सकेको छैन । 

राष्ट्र बैंकको निर्देशन अनुसार अघिल्लो महिना कायम रहेको औसत ब्याजमा १० प्रतिशतका दरले ब्याज दर तल वा माथि गर्न पाइने ब्यवस्था छ । यो प्रावधानलाई टेकेर बैंकहरुले साधारण मुद्दतीको ब्याज दर ११.०३ प्रतिशतबाट १२.१३ प्रतिशत पु¥याएका छन्।

साधारण मुद्दतीको भन्दा ५ प्रतिशत बिन्दुसम्म मात्र बचत खाताको ब्याजदर हुनु पर्ने ब्यवस्था छ भने रेमिटेन्स मुद्दतीमा साधारणभन्दा एक प्रतिशत बिन्दु बढी ब्याज दिन सक्नेछन् । 

यस्तै बचत खाता बीचको ब्याज अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी हुनु हुँदैन । त्यसो हुँदा बैंकहरुले बचतको अधिकतम ब्याज दर १०.१३ प्रतिशत तोकेका छन् । 
 



Leave a comment