काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेका छन् ।
दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेपछि सहकारी बैंक र नेफ्स्कूनले पनि प्रारम्भिक सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेका हुन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले राष्ट्र बैंकबाट ल्याएर प्रारम्भिक संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराइएको जानकारी दिए । ‘हामीले राष्ट्र बैंकबाट ल्याएर संस्थाहरुलाई नयाँ नोट दिएका छौं’ उनले भने, ‘संस्थाहरुले बैंकसँग गरेको कारोबार र सदस्य संख्याको आधारमा नोट उपलब्ध गराएका छौं ।’
यसैगरी नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले पनि नियमित कारोबार गरिरहेका संस्थालाई नयाँ नोट उपलब्ध गराइएको बताए । नेफ्स्कूनले नयाँ नोटका लागि कारोबार गरिरहेको निजी बैंकहरुसँग समन्वय गरिरहेको उनले जानकारी दिए । यसैगरी संस्थाहरुको आवश्यकताका आधारमा राष्ट्र बैंकसँग समेत समन्वय गर्ने उनले बताए ।
राष्ट्र बैंकले यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । सर्वसाधारणहरुले गत वर्षहरुमा जस्तै यस वर्षपनि ५, १०, २०, ५० र १०० रुपैयाँ एक एक बण्डल गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् ।
सहकारी संस्थाहरुले भने आफुलाई उपलब्ध हुने नोटका आधारमा सटही सुविधा दिएका छन् ।
Leave a comment