काठमाडौं । कोभिड–१९ को महामारी र विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव बैंक तथा वित्तीय संस्था हुँदै सहकारी क्षेत्रमा पनि तरलता अभावको समस्या बढिरहेको छ । तरलता अभाव र आर्थिक मन्दीका कारण सहकारीहरुको बचत संकलन र ऋण असुली प्रभावित भएपछि संस्थाहरुले ऋण लगानी गर्न सकेका छैनन् भने कतिपय संस्थाहरुलाई सदस्यको माग अनुसार बचत फिर्ता गर्न समेत ग्राहो परिरहेको छ ।
तरलता अभावको समस्या लम्बिदै गएपछि सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई विश्वासमा लिन धमाधम वार्षिक साधारणसभा गर्न थालेका छन् । उनीहरुले साधारणसभालाई संस्थाको र वित्तीय बजारको पछिल्लो अवस्थाबारे सदस्यलाई जानकारी दिदै उनीहरुलाई विश्वासमा लिने थलोका रुपमा उपभोग गर्न थालेका हुन् ।
संघिय सहकारी ऐन–२०७४ मा सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था छ । उक्त प्रावधान अनुसार संस्थाहरुले आगामी पुस समान्तसम्ममा साधारणसभा गर्न पाउने समयसीमा छ । तर, भदौ महिना सुरुभएसँगै सहकारीको संस्थाहरुमा साधारणभा गर्नेक्रम बढिरहेको छ ।
सदस्यहरुलाई दशैका लागि बोनस दिने र संस्थाको अवस्थाबारे जानकारी दिने उद्देश्यले समेत यस वर्ष छिटो साधारणसभा हु्न थालेको सहकारीका संचालकहरु बताउछन् । यसैगरी सहकारीका संघहरुले पनि छिटो साधारणसभा गरी सदस्यहरुमा विश्वासको वातावरण बनाउन आग्रह गरिरहेका छन् ।
सहकारी अभियानको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघले गत विहिबार अपील जारी गर्दै यथासक्य चाडो साधारणसभा गर्न र सदस्यहरुबिच अधिकतम छलफल गरी विश्वस्त हुने वातावरण सिर्जना गर्न आग्रह गरेको थियो ।
सहकारीका संचालकका अनुसार पछिल्लो समयमा केहि सहकारी समस्याग्रस्त हुँदा सर्वसाधारणमा समग्र सहकारीप्रति अविश्वास पैदा भएकाले सदस्यमा विश्वासको वातावरण बनाउनुपर्ने अवस्था छ । ‘अवधि नपुगी निक्षेप तथा सेयर रकम समेत फिर्ता माग्ने सदस्यहरु बढेका छन्’ एक सहकारीका संचालकले भने, ‘यो तरलता अभावको समस्या भन्दा पनि विश्वास अभावको समस्या हो ।’ सदस्यलाई संस्थाको अवस्थाबारे जानकारी गराएर उनीहरुलाई विश्वासको वातावरण बनाउनका लागि साधारणसभा उपयुक्त थलो बन्ने उनीहरुको बुझाइ छ ।
Leave a comment