कम्युनिष्ट सहकारीकर्मी एक भएपछि कांग्रेसको टिप्पणी : ललितपुरमा गठबन्धन समाप्त 

कम्युनिष्ट सहकारीकर्मी एक भएपछि कांग्रेसको टिप्पणी : ललितपुरमा गठबन्धन समाप्त  :: Sahakari Akhabar

ललितपुर । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा माओवादी केन्द्र, नेकपा समाजवादीलगायतका दलहरुको गठबन्धन छ । यहि गठनबन्धनबाट स्थानिय चुनावमा जितेपछि संघिय तथा प्रदेशको चुनावमा पनि यसलाई कायम गर्न केन्द्रीय नेताहरुबिच दौडधुप चलिरहेको छ । 

तर, सरकार संचालन तथा निर्वाचनमा देखिएको पार्टीहरुको गठबन्धन सहकारीको चुनावमा भने टिक्न सकेन । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा निर्वाचनमा भने कम्युनिष्ट निकट सहकारीकर्मीहरु एक भएका छन् । यसैगरी नेपाली काग्रेस निकट सहकारीकर्मीले छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

सरकार संचालन र स्थानिय चुनावमा रहेको गठबन्धनले सहकारी चुनावमा काम नगरेपछि कांग्रेस नेताहरुले भने ललितपुरमा गठनबन्धन समाप्त भएको टिप्पणी गरेका छन् । ललितपुर जिल्ला बचत संघमा माओवादीसँग सहमति नभएपछि नेपाली कांग्रेसका नेता तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आईतबार बेलुकी सामाजिक संजाल फेसबुकमा ‘ललितपुरमा गठबन्धन आजबाट समाप्त सन्दर्भ सहकारी चुनाव’ लेखेका छन् । 

महर्जनको उक्त टिप्पणीलाई कांग्रेस निकट रहेका सहकारीकर्मी ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद कुमार महर्जनले सेयर गरेका छन् । त्यसमा प्रतिक्रिया दिदै काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका पूर्व अध्यक्ष तुलसी प्रसाद सापकोटाले ‘यसको असर आगामी निर्वाचनमा पर्ने, स्वरुप एउटा भित्र अर्को मान्छेले गर्दा यस्तो भएको हो’ लेखेका छन् । यस्तै ललितपुरकै सहकारीकर्मी शान्ता खड्गीले ‘बेल्कुल बेल्कुल विपक्षसँग गर्ने गठबन्धन भनेकै ठगबन्धन हो यो त गर्नै हुदैन नि’ लेखेकी छिन् । 

ललितपुर बचत संघमा वर्तमान अध्यक्ष रामहरी बजगाई र सञ्चालक नरेन्द्र महर्जनले प्यानलसहित उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो । 

बजगाई माओवादी र महर्जन कांग्रेस निकट मानिन्छन् । माओवादी र कांग्रेसले सत्तामा गठनबन्धन गरेकाले सहकारीको चुनावमा पनि मिलेरै जानुपर्ने दवाव थियो । 

समाचार स्रोतका अनुसार यसपटक बचत संघमा कांग्रेसले दावी गर्दै आफुहरुलाई छोड्न माओवादीसँग आग्रह गरेको थियो । तर, बजगाईले दोस्रो पटक नेतृत्व गर्ने अडान नछोडेपछि सहमति हुन सकेन । बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका लागि प्रस्ताव गरेका थिए । तर, यसमा महर्जनले चित्त बुझाएनन् ।

कांग्रेससँग सहमति नभएपछि बजगाईको सक्रियतामा माओवादीले नेकपा एमाले, नेकपा समाजवादीसँग सहकार्य गरी प्यानल बनाएका छन् । बजगाईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा करुणारत्न बर्जाचार्य, उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा बसन्त माली छन् ।

यस्तै कांग्रेसले पनि महर्जनको नेतृत्वमा बनाएको प्यानलमा वरिष्ठ उपाध्यक्ष कर्ण देसार, उपाध्यक्षमा उजला बज्राचार्य शाक्य, सचिवमा राजु ताम्राकार र कोषाध्यक्षमा विभोषण शाक्य छन् । 

 



Leave a comment