काठमाडौं । सहकारीमा समस्या आउन थालेसँगै जिम्मेवारीबाट भाग्न खोजेपछि सहकारी विभागले सञ्चालकलाई सचेत गराएको छ ।
‘सञ्चालक समितिको सदस्य भएपनि मलाई केही पनि थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी पन्छिन खोज्ने गरेको र केहीले जिम्मेवारीबाट अलग गराइ पाउँ भनी विभाग आउने गरेका छन्’ विभागले भनेको छ ।
सहकारीका सञ्चालकलाई जिम्मेवारीबाट नपन्छिन निर्देशन जारी गरेको छ । सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै विभागले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राख्न निर्देशन दिएको हो ।
शाखा अधिकृत निरोज घिमिरेले सबै सहकारी संघ संस्थालाई पत्राचार गर्दै सञ्चालक समितिको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने जनाएको हो ।
सहकारी संस्थाहरु सामूहिक जिम्मेवारीमा रहने हुँदा सदस्यको बृहतर हितमा केन्द्रीत रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिवद्धताका साथ कार्य सम्पादन गर्न / गराउन विभागले निर्देशन जारी गरेको छ ।
सहकारीको लोकतान्त्रिक पद्धतिबाट सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति छनोट भई नियमित र निरन्तर छनोट हुने निकाय भएको भन्दै विभागले जिम्मेवारी नभुल्न सहकारीका सञ्चालकलाई सम्झाएको हो ।
संस्था राम्रैसँग सञ्चालन हुँदा सस्थागत संलग्नताको परिचय गराउने तर संस्थामा केही समस्या देखिन थालेमा सञ्चालक समितिमा त्यतिकै राखिदिएछन् भनेर पन्छिने गरेको विभागले जनाएको छ ।

Leave a comment