ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघमा चुनावी सरगर्मी सुरु भएको छ । सहमतिमा सहमतिमा नेतृत्व छनोट गर्ने प्रयास भएपनि वर्तमान अध्यक्ष रामहरी बजगाई र सञ्चालक नरेन्द्र महर्जनले प्यानलसहित उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो । संघको भदौं २७ गते हुने २८ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।
समाचार स्रोतका अनुसार बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका प्रस्ताव गरेका थिए । तर, महर्जनले अघिल्लो पटकको साधारणभामै सचिव छोडेको भन्दै यसपाली अध्यक्ष नै चाहिने अडान लिएपछि सहमति हुन सकेन ।
बजगाईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा करुणारत्न बर्जाचार्य, उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा बसन्त माली छन् ।
यस्तै महर्जनको प्यानलमा वरिष्ठ उपाध्यक्ष कर्ण देसार, उपाध्यक्षमा उजला बज्राचार्य शाक्य, सचिवमा राजु ताम्राकार र कोषाध्यक्षमा विभोषण शाक्य छन् । अध्यक्षका उम्मेदवारमध्ये बजगाई सहकारी अभियानमा पूरानो, अनुभवी र खारिएका व्यक्ति मान्छिन् ।
उनको प्यानलमा रहेका पदाधिकारीको संस्था समेत ठूला र अब्बल रहेको बजगाई बताउँछन् । ‘सहमतिका लागि अन्तिमसम्म बसियो तर उहाँहरु सहमतिमा जान मान्नुभएन, पहिल्यैदेखि तयारी रहेछ ।’ उनले भने, ‘बाँकी काम पूरा गर्न एक कार्यकालमा नेतृत्व गर्ने चाहाना गरेको छु।’ यो कार्यकालमा रचनात्मक काम गरेको र आगामी कार्यकालमा अझ राम्रोसँग काम गर्ने उनको दावी छ।
बजगाईले संघबाट आधुनिक ब्यवस्थापन सहित बित्तिय सेवा दिने, ५५ करोडको कारोबारलाई २ अर्ब १२ करोड पुर्याउने, नियमित शिक्षा तालिम तथा नियमन निकायसँग बहस पैरवी गर्ने योजना रहेको बताए ।
यस्तै स्थानीय सरकारसँग साझेदारी कार्यक्रम, समस्याग्रस्त सहकारीमा बिज्ञ सहित आर्थिक सहायता, चुस्त अनुगमन, न्यायोचित कार्य बिभाजन र उपसमिति परिचालन, बित्तिय साक्षरता कार्यक्रम, नीति विधि र प्रविधि मैत्री संस्था निर्माणमा जोड दिने उनको योजना छ ।
यसैगरी संस्था एकीकरण प्रक्रियामा जोड, सुशासनका लागि सञ्चालकहरुको क्षमता अभिवृद्दि गर्ने, अन्तर जिल्ला समन्वय क्रियाकलाप, बैक नेफ्सकुन र बचत संघबिच समन्वयात्मक कार्यक्रम, जिल्ला संघ र बिषयगत संघसँग अन्तरंग बहस पैरवी, न्यायोचित संस्था सम्मान तथा प्रोत्सान कार्यक्रम, निरन्तर सहकारी अभियानको पहरेदार, निशुल्क प्रशिक्षणलगायतका काम गर्ने बजगाईको योजना छ ।
अध्यक्षका अर्का दावेदार महर्जन आफुले नेतृत्व गर्दा सहकारीमा समस्या सम्बोधन गर्न पहल गर्ने, तरलता अभाव हटाउने बताउँछन् । ‘केही खराब संस्था पनि छन्, भ्रम चिर्न नसक्दा पनि सबै सहकारी समस्यामा छन्’ उनले भने, ‘सहकारीको बदमासी रोक्दै सुशासन ल्याउन मेरो पहल हुनेछ ।’
संघको वर्तमान नेतृत्वले काम गर्न नसकेकाले आफुले नेतृत्व गर्न लागेको पनि उनले दावी गरे । ‘नेतृत्वले धेरै काम गर्न सक्थ्यो तर खासै केही काम गरेन’ उनले भने । बचत संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि रहेका छन् ।
Leave a comment