काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा कार्यवाहक अध्यक्षको भूमिका पाएका चन्द्रप्रसाद ढकालले सहकारीमा देखिएका समस्या समाधानमा सक्रियता बढाएका छन् । अध्यक्ष परितोष पौड्याल अक्कु फोरममा सहभागि हुन गएपछि कार्यवाहक भूमिका पाएकै अवस्थामा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा सरोकारवाला संघसंस्थासँग सम्बन्ध सुधार्ने नीतिसहित सक्रियता देखाएका हुन् ।
कार्यवाहकको जिम्मेवारी पाएयता वरिष्ठ उपाध्यक्ष ढकालले औपचारिक तथा अनौपचारिक रुपमा सरोकारवालाहरुसँग छलफललगायतका काममा नेफ्स्कूनलाई सक्रिय बनाएका छन् । यसबिचमा प्रदेश र जिल्लाका बचतसंघहरुसँग छलफल तथा अन्र्तक्रिया गरी प्रतिवद्धता जारी गर्नुका साथै राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको नेतृत्वसँग समेत छलफल कार्यक्रम आयोजना भएको छ ।
नेफ्सकूनले बचत संघहरुलाई वेवास्ता गरिरहेको आरोप लागिरहेका बेला ढकालको सक्रियतामा बागमती प्रदेश बचत संघ, काठमाडौं, ललितपुर र भक्तपुर बचत संघका पदाधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया भएको छ । सो अवसरमा ७ बुँदे सामुहिक प्रतिबद्धता निर्माण गरिएको थियो । उक्त प्रतिबद्धता समग्र साकोस अभियानको साझा प्रतिबद्धताको रुपमा कार्यान्वयन गर्ने जनाइएको छ ।
प्रतिवद्धतामा साकोस सञ्जाललाई नीतिगत सर्वोच्चता र कार्यगत स्वायत्तताको नमूनामा सञ्चालन गर्ने, जिल्ला र प्रदेश संघहरु समेतको स्वामित्व रहने गरी साकोस अभियानको संरक्षण, सुशासन प्रवर्धन, छवी निर्माण गर्न सहयोगी हुने चेतनामुलक सामाग्री विकास, प्रकाशन एवम् प्रसारण गर्ने उल्लेख छ । यस्तै साकोस अभियानको वित्तीय, प्राविधिक एवम् मानव स्रोतको व्यवस्थापन, परिचालन र उपयोगमा सञ्जाललाई प्राथमिकता दिने, बहस, पैरवी र अन्य समसामयिक सवालमा साकोस अभियानको आधिकारिक धारणा विकास गर्दा प्रदेश एवम् जिल्ला बचत संघसँगको समन्वयमा नेफ्स्कून मार्फत विकास गरी सार्वजनिक गर्ने । प्रदेश एवम् जिल्ला संघले सोहि धारणा अनुरुप आफ्ना कार्य, योजना, बहस, पैरवी लगायतका कार्य गर्ने प्रतिवद्धता जनाइएको छ ।
यस्तै साकोस सञ्जालमा साझा सेवाको विकास एवम् हस्तान्तरण र सोको उपयोग सम्बन्धमा आधिकारिक धारणा, कार्यविधि र स्रोतको बाँडफाँड सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा प्रदेश बचत संघ र जिल्ला बचत संघका व्यवस्थापन प्रमुख सम्मिलित कार्यदल निर्माण गरी मासिक समीक्षा गर्ने उल्लेख गरिएको छ । ढकालले नेफ्स्कूनको संयोजनमा प्रदेश बचत संघ र जिल्ला बचत संघका पदाधिकारीहरुको बैठक त्रैमासिक रुपमा बसी समसामयिक सवालहरुमा व्यवस्थापनबाट प्राप्त प्राविधिक सुझावको आधारमा समीक्षा गरी प्राथमिकता निर्धारण गर्ने निर्णय गरेका छन् । नेफ्स्कून, प्रोस्कून र जिल्ला बचत संघको संयुक्त अनुगमन कार्यदल बनाई जोखिमउन्मुख संस्थाहरुको अनुगमन गर्ने समेत सहमति भएको छ ।
यसैगरी कार्यवाहक अध्यक्ष ढकालले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बालाई भेटी साकोस अभियानका समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । ढकाल र निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले भदौ १९ गते जारी गरिएको ७ बुँदे समूहिक प्रतिबद्धताका बारेमा जानकारी गराएका थिए ।
नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १२ औं स्थापना दिवसका दिन नेफ्स्कूनका पदाधिकारी र पत्रकारबीच सहकारीका सहकारीका समसामयिक विषयमा छलफल भएको थियो ।
कार्यवाहक अध्यक्ष ढकालले सहकारी विभागले तयार पार्न लागेको स्वेतपत्रमा नेफ्स्कूनका तर्फबाट सुझाव दिएका छन् । विभागले स्वतपत्र जारी गर्नका लागि सरोकारवालासँग सुझाव मागेको थियो ।
नेफ्स्कूनका अध्यक्ष पौड्याले एसियाली ऋण महासंघको कार्यक्रममा थाइल्यान्ड जानु अघि भदौ ११ गते ढकाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
ढकाल नेफ्सकूनमा आगामी कार्यकालमा अध्यक्षको रुपमा नेतृत्व गर्ने तयारीमा लागिरहेका छन् ।
Leave a comment