सहकारीको नेटवर्कलाई कृषि सहकारी संघको बहिष्कार 

सहकारीको नेटवर्कलाई कृषि सहकारी संघको बहिष्कार  :: Sahakari Akhabar

काठमाडौं । प्रारम्भिक कृषि सहकारी संस्थाहरुको छाता संघका रुपमा दर्ता भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले कार्यक्रम संचालन गर्नका लागि भने सहकारीको नेटवर्कलाई बहिस्कार गरेको भेटिएको छ । 

संघले एसिया प्रशान्त किसान कार्यक्रम (एपीएफपी) सँग सहयोग लिएर सुरु गरेको ब्यवसायीक योजना निर्माण सम्बन्धी तालिममा सहभागि छनोटका लागि सहकारी  बाहिरको नेटवर्कलाई परिचालन गरेको हो । विहिबारदेखि सुरु भएको तालिमका लागि संघले आफ्ना सदस्य संस्थाहरुबाट सहभागि छनोट नगरी राजनीति दलका भातृ संगठनको सहयोगमा छनोट गरेको हो । 

तालिममा सहभागि छनोट कृषिका प्रारम्भीक सहकारीमार्फत गर्नुपर्ने भएपनि संघले राजनीतिक पार्टीका भातृसंगठन बोलाएको भन्दै आलोचना भएको हो । संघले पार्टीका भातृसंगठन तथा गैररकारी निकायका १९ वटा निकायलाई पत्राचार गर्दै दुई–दुई जना सहभागी पठाइदिन अनुरोध गरेको थियो । 

उपमहाप्रबन्धक मीना पोखरेलले अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ, राष्ट्रिय कृषक समूह महासंघ, महिला किसान संघ नेपाल, भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, कुखुरा पालक किसान संघ, दलित तथा भूमिहिन किसान संघलाई पत्राचार गरी तालिमका लागि प्रतिनिधि पठाउन अनुरोध गरिएको छ । 

त्यस्तै संघले राष्ट्रिय सिचाइ जल उपभोक्ता महासंघ, नेपाल फर्मा कल्चर समूह, केन्द्रीय चिया सहकारी संघ, अखिल नेपाल किसान महासंघ(राजमो), युवा किसान संघ, पशुपालक किसान संघ नेपाल, दुग्ध उत्पादक किसान संघ नेपाल, तरकारी उत्पादक किसान संघ, अभियान लघुवित्त संस्था र मुमेन्ट अन इनोभेटिभ एग्रिकल्चर कोअपरेटिभलाईबाट प्रतिनिधि बोलाएको हो । 

संघले एसियाली प्रशान्त किसान कार्यक्रम अन्र्तगत एक जना व्यवसायिक महिला किसान र एकजना व्यवसायिक पुरुष किसान बोलाएको हो । 

काठमाडौं बहुउद्देश्यीय जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष तुलसीप्रसाद सापकोटाले उक्त पत्र सार्वजनिक गर्दै सहकारीको चरम राजनीति पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् । प्रारम्भिक सहकारी छोडेर पार्टीका संगठनसँग छलफल चलाउनु उचित नभएको उनको भनाइ छ । 

संघले तालिम संचालनका लागि सहकारी नेटवर्कलाई वेवास्ता गरेपनि अध्यक्ष खेम बहादुर पाठक भने राष्ट्रिय सहकारी महासंघमा संचालक छन् । कृषि सहकारीको केन्द्रीय संघ भनेपनि संघले साना किसान सहकारीलाई मात्रै प्रवद्र्धन गर्दै आएको छ । तर, साना किसान सहकारी संस्थाहरु पनि बचत तथा ऋणको काममा मात्र क्रियाशिल छन् । 



Leave a comment