ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघमा चुनावी चहलपहल सुरु भएको छ । संघको यहीँ भदौ २७ गते २८ औं वार्षिक साधारणसभा हुँदैछ ।
उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । तर, धेरैजसो सञ्चालक चुनाव नगर्ने पक्षमा छन् । सर्वसम्मत नेतृत्व छान्नुपर्ने अधिकांशको आवाज छ ।
विषम परिस्थिति भएकाले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइहेको पदाधिकारी बताउँछन् । अध्यक्ष रामहरि बजगाई सकभर सर्वसम्मत नेतृत्व छनोट हुने बताउँछन् ।
वरिष्ठ उपाध्यक्ष करुणारत्न बर्जाचार्यले अहिलेको परिस्थितिमा राजनीतिकर्मी नभई सहकारीकर्मी भएर सोच्दा चुनाव गर्न नहुने बताउँछन् । तर, सहमति नभए अध्यक्षमै चुनाव लड्नुको विकल्प नभएको उनी बताउँछन् ।
अध्यक्षका लागि उनी खुलेर लागेका छैनन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बजगाई र वर्तमान सञ्चालक नरेन्द्र महर्जन आकांक्षी हुन् । बजगाई र महर्जन चुनावी मैदानमा उत्रिए पनि अझै चुनाव हुने/नहुने अन्योल छ ।
‘सर्वसम्मत बनाउने प्रयास जारी छ, सकेसम्म यस्तो पस्थितिमा चुनाव गर्न हुँदैन भन्ने मेरो मान्यता छ’ भन्छन्,‘अहिले राजनीतिककर्मी नभई सहकारीकर्मीको हिसाबले सोच्दा सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ ।’
सचिव श्याम महर्जनले बेलुकासम्म सहमति नभए चुनावी प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘सहमतिका लागि प्रयास भइरहेको छ, बेलुकासम्म टुंगिनेमा आशावादी छु’ उनले भने ।
सहमतिमा नेतृत्व चयन भए उनी सचिवमा दोहोरिन चाहेका छन् । सकेसम्म सहमतिमै जाउँ भनेर छलफल भइरहेको सचिव महर्जनले बताए ।
ललितपुर बचत संघमा ४ सय ८० सदस्य छन् । त्यसमध्ये ३ सय बढी प्रतिनिधि आउन सक्ने जनाइएको छ ।
Leave a comment