काठमाडौं । तरलता अभावका कारण सदस्यको बचत फिर्ता दिन नसकी समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि समस्या समाधान गर्न अभियानका तर्फबाट गठन गरिएको ‘सहजिकरण संयन्त्र’ अलपत्र परेको छ ।
संयन्त्रको पहलमा साउन दोस्रो साता संयुक्त अपील जारी गरेपनि त्यसयता संयन्त्रले कुनै भूमिका देखाउन सकेको छैन । बरु संयन्त्रको सुझाव अनुसार जारी भएको अपीलका कारण सहकारीमा समस्या बढेको सहकारीकर्मीहरुको आरोप छ ।
अप्ठेरोमा परेका संस्थाहरुलाई सहयोग गर्नका लागि साउनमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलको संयोजकत्व संयन्त्र गठन गरिएको थियो ।
संयन्त्रमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघ, कृषि सहकारी केन्द्रीय संघ, बागमती प्रदेश संघ, बागमती प्रदेश बचत संघ, जिल्ला संघ काठमाडौं, ललिपुर, भक्तपुर र काभ्रेका साथै विषयगत जिल्ला संघहरुका प्रतिनिधि सदस्य तोकिएको छ ।
तर, संयन्त्रले सहकारीमा देखिएका समस्याबारे अध्ययन गर्ने, समस्या समाधानका लागि पहल गर्ने, समस्याग्रस्त संस्थामा सहजिकरण गर्ने जस्ता कुनै पनि काम अघि बढाउन सकेको छैन ।
संयन्त्रको एक÷दुई वटा बैठक बसेपनि ठोस काम गर्न नसकिएको राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाईले स्वीकार गरे । ‘केन्द्रपछि जिल्ला जिल्लामा संयन्त्र बनाउने र समस्यामा परेका संस्थासँग छलफल गरेर सहजिकरण गर्ने सल्ला भएको थियो’ उनले भने, ‘एकदुई चरणमा छलफल भयो । तर, ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।’
पछिल्लो समयमा सहकारीमा तरलता अभावको समस्या चुलिदै छ । अधिकांश सहकारीहरुले बचतकर्ताको माग अनुसार निक्षेप फिर्ता गर्न सकेका छैनन् । कतिपय सहकारीका संचालकले बचत फिर्ता गर्न नसक्दा कार्यालय नै बन्द गर्नुपरेको छ भने प्रहरी सुरक्षा समेत माग्नुपर्ने परिस्थिती सिर्जना भइसकेको छ । तर, समस्या समाधानका लागि संयन्त्रले पहलकदमी लिएको छैन ।
संयन्त्रका सदस्यसमेत रहेका बजगाईले अभियानमा अहिलेसम्म गम्भीर छलफल नभएको बताउँछन् । ‘अहिलेसम्म संयन्त्रलाई कुनै टिओआर समेत दिइएको छैन, गहन छलफल पनि भएको छैन’ उनले भने ।
देशभर सञ्चालनमा रहेका ३० हजार सहकारीमध्ये अधिकांश समस्यामा छन् । बजगाईका अनुसार झण्डै ८० प्रतिशत सहकारी समस्यामा रहेको र सबैलाई पैसा चाहिएकाले अभियानले सहयोग गर्न नसक्ने अवस्था बनेको बताउछन् ।
‘पैसा नभएपछि कहाँबाट दिने, सहकारीमा विश्वासको वातावरण गुम्यो’ उनले भने, ‘केही संस्थाका ऋणी र सञ्चालकका कारण सहकारी बदनामी हुन पुगेको छ ।’ काम गर्दा गर्दै ऋणीले ऋण नतिरेकाका कारण समस्या भए सदस्यलाई आश्वस्त पार्न सकिने भएपनि सञ्चालकले नै मनोमानी ढंगले चलाएको संस्था जोगाउनै समस्या पर्ने उनको बुझाइ छ ।
सहकारीमा ठूलो समस्या पर्दा पनि अभियान र यसको नेतृत्व कानमा तेल हालेर बस्ने गरेको आलोचना हुदै आएको छ । समस्या समाधान गर्न नेतृत्वले पहल नगरेको प्रारम्भीक सहकारीका सञ्चालकहरु गुनासो गर्छन् । उनीहरुले सहकारीको हित भन्दा आफ्नो राजनीतिक तथा व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि अभियानलाई प्रयोग गर्दा सहकारीमा दिनप्रतिदिन समस्या बढ्दै गएको गुनासो छ ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले केन्द्रीय तहमा ठोस काम नभएपनि जिल्लास्तरमा संयन्त्र बनेको र त्यसले समस्या समाधानका काम भएको बताउँछन् । ‘ललितपुरमा जिल्ला संघको नेतृत्वमा संयन्त्र बनेको छ, त्यसले समस्या परेका सहकारीमा छलफल गरिररहेको छ ।’
समस्या भएका संस्थासँग छलफल गर्ने, आन्तरिक काम गर्ने गर्दै आएको छ । स्टार, देउराली, गुडविलले गर्दा ललितपुरमा पछिल्लो समयमा सहकारी बदनामी हुन पुगेका छन् । खासगरी कुमारीपाटी आसपासका सहकारी बढी आतंकित छन् ।
‘पर्याप्त तरलता नभएकाले बचतकर्तालाई कन्भिन्स गराउने नै समाधानको उपाय हो, सदस्यले पैसा लिन हतार गरे समस्या झन् बढ्छ’ शर्माले भने ।
संयन्त्रकै सल्लाहले समस्या
सहकारीको समस्या समाधान गर्न गठन भएको संयन्त्रले दिएको सल्लाहका कारण सहकारीमा नकारात्मक प्रभाव परेको भन्दै महासंघलगायतका नेतृत्वले संयन्त्रलाई चासो दिन छोडेको बताइएको छ ।
साउनमा जारी भएको अपीलमा सहकारीहरुलाई शेयर र आवधिक बचत फिर्ता नगर्न तथा सामान्य बचत पनि एक पटकमा ५ प्रतिशत मात्र फिर्ता गर्न आग्रह गरिएको थियो ।
उक्त अपिल सार्वजनिक भएपछि सबै सहकारीहरु समस्यामा रहेको सन्देश बजारमा गएको र सर्वसाधारण सहकारीप्रति थप नकारात्मक भएको बुझाइ छ । उक्त अपीलले नकारात्मक सन्देश फैलाएको भन्दै त्यसको थप ब्याख्या गर्न सहकारीका संचालकहरुले आग्रह गरेपनि संयन्त्र र महासंघको नेतृत्वले भोली÷पर्सी गरौंला भन्दै टार्दै आइरहेको छ ।
संयन्त्रको सुझावमा जारी भएको अपील नै विवादमा परेपछि संयोजक रहेका पौड्याल यतिबेला निश्कृय जस्तै देखिन्छन् । उनले सिंगो सहकारी क्षेत्रको समस्या समाधानका लागि नेतृत्व लिन नसकेको भन्दै आलोचना भइरहेको पनि उनले मिडियासँग समेत बोल्न रुचाउदैनन् ।
‘सहकारी बुझेको र सरकारको नेतृत्व गरेको पार्टीसँग समेत निकट रहेको भएकाले संयोजक बनाइयो’ एक सहकारी नेताले भने, ‘उनले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकेनन् ।’
Leave a comment