मर्जरको माहोलले सहकारीमा उत्साह, संचालक भन्छन् मर्जर वर्ष घोषणा गरौं 

मर्जरको माहोलले सहकारीमा उत्साह, संचालक भन्छन् मर्जर वर्ष घोषणा गरौं  :: Sahakari Akhabar

काठमाडौं । कोभिड–१९ को महामारी, रुस युक्रेनको युद्धलगायतका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी देखिएको छ । जसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि महंगी बढिरहेको छ, तरलता अभावको समस्या बढ्दै गएको छ भने महंगी पनि उच्च छ । बैंक तथा वित्तीय संस्था हुँदै सहकारीमा पनि तरलता अभावको समस्याका कारण कतिपय संस्थाहरुलाई बचत फिर्ता गर्न समेत धौ–धौ परिरहेको छ । 

तर, कालो बादलमा चाँदीको घेरा भनेझै यतिबेला सहकारीमा भने मर्जरको माहोल सिर्जना हुन थालेको छ । संस्थाहरुको संख्या बढि भयो भन्दै सहकारीमा मर्जर अभियान नै आवश्यक छ भनेपनि सार्थकता पाउन सकेको थिएन । पदको लोभले धेरै संस्थाका सञ्चालक मर्जर अभियानमा जान चाहेका थिएनन् । तर, समय र परिस्थितिले सबैलाई मर्जर अभियानमा जान वाध्य बनाएको सहकारीकर्मीहरुले नै बताउन थालेका छन् । 

सरकारले २०७० मै सहकारी एकीकरण निर्देशिका ल्याएको थियो । त्यसपश्चात पनि खासै सहकारी मर्जर हुन सकेनन् । पछिल्लो एक हप्तायता २५ संस्था मर्जर भएर तीन वटा संस्था बन्न सम्झौता गरेका छन् । सुरुमा ५ वटा संस्थाले सम्झौता गरी एक सहकारी बन्ने घोषणा गरे । त्यसपछि ९ वटा संस्थाले मर्जरका लागि सम्झौता गरे । र लगत्तै ११ वटा संस्था मर्जर सम्झौता गरिसकेका छन् । अन्य संस्था पनि मर्जर तयारीमा रहेको जानकारहरु बताउँछन् ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले केही महिनाअघि नै सार्वजनिक कार्यक्रममै मर्जर वर्ष घोषणा गर्नुपर्ने बताएका थिए । त्यतिबेलासम्म सहकारीमा मर्जर अभियानमा जान त्यति उत्साहित भइसकेका थिएनन् । तर, पछिल्लो समयमा मर्जर अभियान सुरु भएकोमा चौलागाई खुसी छन् । ‘पहिला पद छोड्न कोही तयार हुँदैनथ्यो,अहिले तनाव बोक्नुभन्दा मर्जर गर्नु बेस भन्न थालेका छन्’ उनले भने । 

मर्जर सकारात्मक भएको र समयले पनि गाभ्न÷गाभिन वाध्य बनाएको चौलागाई बताउँछन् । ‘चुनौतीले अवसर सिर्जना गरेको छ, मर्जर आवश्यक थियो, परिस्थितिले छिटो मर्जरमा लैजान सहज बनाएको छ’ उनले भने । 

काठमाडौं जिल्लाभर चार हजार सहकारी रहेका छन् । काठमाडौंमा एकले दुईवटा संस्था मर्ज गर्दा पनि १ हजारमा झार्न सकिने चौलागाई बताउँछन् । 
राष्ट्रिय सहकारी बैंकका सञ्चालक धुव्रनारायण यादवले मर्जर अभियान सकारात्मक पक्ष भएको बताउँछन् । ‘राम्रा राम्रा सहकारी मात्रै मर्जर गरेर हुँदैन’,यादव भन्छन्,‘ कम पुँजी भएका संस्थालाई पनि मर्जरमा लैजानुपर्छ ।’

मर्जर अभियानले सदस्यलाई गुणस्तरीय सेवा दिन, कर्मचारीलाई उचित सेवासुविधा दिन सहज हुन्छ । ‘पुँजी पर्याप्त भएपछि कर्मचारीलाई टिकाउन सकिन्छ । माग अनुसार सेवा दिन सकिन्छ’ यादवले भने । 

मर्जर अभियान कतिपय अवस्थामा विवाद पनि भएका छन् । दाङका चारवटा सहकारी मर्ज सम्झौता गरेपनि संस्थाले दिएको तथ्यांक भन्दा वास्तविक तथ्यांक अर्कै भएपछि ती मर्ज हुन पनि सकेका छैनन् र छुट्टिन पनि सकेका छैनन् । 

बैंकका सञ्चालक यादव सहकारीको बाक्लो उपस्थिति भएका ठाउँमा सहकारी मर्जर अभियान चाल्नुपर्ने र नभएका ठाउँमा दर्ता गर्न प्रोत्साहन गर्नुपर्ने बताउँछन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक विद्या कोइराला साना संस्था सञ्चालन गर्न कठिनाइ हुने भएकाले मर्जर अत्यावश्यक भएको बताउँछिन् । ‘साना सहकारीलाई प्रविधिमा जान, सदस्यलाई गुणस्तरीय सेवा दिन कठिन हुने भएकाले मर्जरमा जानु राम्रो हुन्छ’ उनले भनिन् । 

वित्तीय कारोबार बढ्नुका साथै सदस्यले पाउने सेवासुविधा पनि बढ्ने भएकाले सबै अभियन्ताले मर्जरमा प्रोत्साहन गरिरहेका छन् कार्यक्षेत्र पनि थप हुने, प्रविधिमा जान सहज हुने भएकाले मर्जर गर्नु उपयुक्त हुने कोइराला बताउँछिन् । 

सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । तर, संख्याको तुलनामा गुणात्मक विकास हुन सकेको छैन । सहकारी विभागले आइतबार मात्रैै एकीकरण विधिसम्मत गर्न निर्देशन पनि दिएको छ ।

सहकारीहरुले हाल एकीकरण गर्दा थप सेवाकेन्द्रको स्वकृती पाउने गरेको छ । यसबाहेक बैंकहरुलाई जस्तै आयकरलगायतमा छुट दिएर प्रोत्साहन गर्न सकिने सहकारीकर्मीहरुको सुझाव छ ।  
 



Leave a comment