सहकारीबाट बैंकतिर सर्दै निक्षेप : सहकारीमा घट्दा बैंकमा बढ्यो 

सहकारीबाट बैंकतिर सर्दै निक्षेप : सहकारीमा घट्दा बैंकमा बढ्यो  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाबाट निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा सर्न थालेको छ । सहकारीहरुमा तरलता अभावको समस्या बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरुमा भने निक्षेप बढ्न थालेको तथ्यांकले यसलाई पुष्टि गरेको छ । 

नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांक अनुसार भदौ तेस्रो साता मात्र बाणिज्य बैंकहरुमा निक्षेप ११ अर्व ३० करोड रुपैयाँले बृद्धि भएको छ । भदौ १० गतेसम्ममा बाणिज्य बैंकहरुमा ४४ खर्व २६ अर्व १६ करोड रुपैयाँ निक्षेप रहेकोमा भदौ १७ गते ४४ खर्व ३७ अर्व ४५ करोड पुगेको छ । अघिल्लो साता पनि बैंकहरुको निक्षेप ५१ करोड रुपैयाँले बढेको छ । 

पछिल्लो समय बैंकहरुले ब्याज बढाउनुका साथै नयाँ–नयाँ योजना ल्याएर निक्षेप बढाउन पहल गरिरहेका छन् । यसैगरी सहकारीबाट निक्षेप तान्नका लागि बैंकका बजार प्रतिनिधिहरु संस्था–संस्था र बचतकर्तासम्म पुग्ने गरेको सहकारीका संचालकहरु बताउँछन् । 

छोटो अवधिका मात्र मुद्दति निक्षेपका कार्यक्रम रहेकोमा बैंकले २१ वर्ष अवधिसम्मको योजना ल्याएकाले सर्वसाधारणले सहकारीबाट रकम झिकेर बैंकमा राख्न थालेको हुनसक्ने राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल बताउछिन् । बैंकहरुले १० गुणासम्म फिर्ता गर्ने योजनाले सहकारीका सदस्यको ध्यान तानेको उनको भनाइ छ । 

‘बैंकहरुले २१ वर्षमा १० गुणा फिर्ता दिने बचत योजना ल्याएपछि सहकारीको पैसा बैकतिर गएकाले तरलताको अभाव भएको छ ।’ उनले भनिन् । 
पछिल्लो समय बाणिज्य बैंकहरुले २१ वर्ष अवधिसम्मको मुद्दति निक्षेप योजना ल्याइरहेका छन् । निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले ब्याजका अतिरिक्त बिमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधा समेत थपेका छन् ।

एआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ बाट सुरु भएको यस्तै प्रकृतिका बचत योजना ग्लोबल आइएमई, सिभिल, कुमारी, सानिमा, नविललगायतले पनि सार्वजनिक गरेका छन् । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु सहकारी संस्थामा डुलेर निक्षेप तान्ने अस्वस्थ प्रतिस्पर्धा गरिरहेको बताए ।  ‘अघिल्लो दिन ७ प्रतिशत ब्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पु¥याए । बैंकहरु कसले जग्गा बेचेको छ, को सँग पैसा छ भन्ने खोज्दै संस्था–संस्थामा पुगेका छन्’ उनले भने ।  

हाल बाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.३ प्रतिशत ब्याजदर दिने संघमार्फत भद्र सहमति गरेका छन् । यसैमा रेमिट्यान्स मुद्दति निक्षेपमा थप एक प्रतिशत विन्दुले ब्याज दिने भएकाले १२.३ प्रतिशतसम्म ब्याज छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीले दिने ब्याजदर अझै बढि छ । 

बैंकहरुले ब्याज बढाएपछि सहकारीका संचालकहरुले पनि सन्दर्भ ब्याजदर बढाउन दवाव दिएपनि सहकारी विभागका रजिष्ट्रारले अस्विकार गर्र्दै आएका छन् । 

यसैगरी पछिल्लो समय समस्याग्रस्त सहकारीहरुको संख्या बढेपछि पनि बचतकर्ता त्रसित भएका छन् । त्रासका कारण अवधि नै नपुगेको मुद्दति निक्षेप फिर्ता माग्ने आउने क्रम समेत बढेको सहकारीका संचालकहरु बताउछन् । 



Leave a comment