बैंकहरुको १० गुणासम्मको बचत योजनाले सहकारीमा समस्या 

बैंकहरुको १० गुणासम्मको बचत योजनाले सहकारीमा समस्या  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुको १० गुणासम्म बढ्ने बचत योजनाले सहकारीमा तरलता अभाव भएको बताएकी छिन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले अहिलेसम्म यस्ता मुद्दति योजना ल्याएका थिएनन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले भनिन्, ‘१० गुणासम्म बढ्ने २१ वर्षे बचत योजना ल्याएपछि सहकारीको पैसा बैकतिर गएकाले तरलताको अभाव भएको छ ।’

विश्वमै आएको आर्थिक संकटका असरका कारण सहकारीमा पनि तरलता अभाव भएको भन्दै मल्लले यसबाट सहकारीलाई सुधारको मौका आएको पनि दावी गरिन् । ‘अब सहकारी सुधिर्नुपर्छ, संकटले सहकारी अभियानमा सुधिर्ने मौका मिलेको छ’ उनले भनिन् ।

 पछिल्लो समयमा सहकारीमा समस्या आएसँगै एकीकरणको माहोल सिर्जना भएको र यसबाट सकारात्मक सन्देश प्रवाह भएको उनले दावी गरिन् । मल्लले सहकारीका सदस्यहरुले अधिकार र कर्तव्य पालना नगरेको बताइन् । सहकारीहरु स्वनियमन र स्वअनुशासनमा चल्ने भएपनि सदस्यले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा समस्या सिर्जना भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनुपर्ने जोड दिए । 



Leave a comment