काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले घरघग्गामा लगानी गरेकाले तरलता अभाव भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसका अवसरमा बोल्दै रजिष्ट्रार पण्डितले सबै सहकारीलाई बद्नाम गर्न हुन्न भनेर कडा कदम नचालेको बताए । ‘सहकारीप्रति उदार भएकै हो, सहज भएमा त्यसै छोड्नेवाला छैन’ उनले भने ।
सहकारी सुधार गर्न सकिने ठाउँ रहेको भन्दै चारपाँच वटा कुरामा ध्यान दिन सके समस्या समाधान गर्न सकिने रजिष्ट्रार पण्डितले बताए । उनले केन्द्रिय संघबाट सुधार अभियान सुरु गरिसकेको पनि दावी गरे । रजिष्ट्रार पण्डितले सहकारीका समस्याका विषयमा प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय समस्या समाधान समितिमा उठाइसकेको र त्यहाँबाट सहकारीसम्बन्धी केही नयाँ व्यवस्था आउन सक्ने रजिष्ट्रारले बताए ।
उनले मर्जरलाई व्यवस्थित गर्न निर्देशन जारी गर्न लागिएको पनि जानकारी दिए । ‘मर्जर आवश्यक छ, सम्झौता भएको तीन दिनभित्र नियामकीय निकायलाई जानकारी दिनुपर्छ’ उनले भने,‘ मर्जर सम्बन्धी निर्देशन आउँछ, हाम्रोतर्फबाट प्रोत्साहन नै हुन्छ ।’ यसैगरी विभागको नियमनभित्र रहेका सहकारीहरुको तिनपुस्त विवरण अद्यावधिक गर्न लागिएको पनि उनले जानकारी दिए।
नियमक निकायको क्षमता बढाउन डिभिजन सहकारी कार्यालय बनाउन प्रस्ताव गरिएको रजिष्ट्रार पण्डितले बताए । ‘अब बन्ने डिभिजन भुगोलको आधारमा नभई कारोबारका आधारमा हुन्छ’ उनले भने ।
Leave a comment