११ सहकारीको मर्जर सम्झौता : पौने ८ अर्वको संस्था बन्ने 

११ सहकारीको मर्जर सम्झौता : पौने ८ अर्वको संस्था बन्ने  :: Sahakari Akhabar

काठमाडौं । काठमाडौंका ११ सहकारी संस्थाहरुबीच एक आपसमा एकीकरणका लागि सम्झौता भएको छ । शनिबार मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्देश्यीय, हनुमानढोका (एचडी) बहुउद्देश्यीय, पिपुल श्रोता बहुउद्देश्यीय, दुर्गा माश्रिता बचत तथा ऋण, सर्बाेत्तम बहुउद्देश्यीय, सुर्यदेब बचत तथा ऋण उषाकिरण बचत तथा ऋण, योजना बहुउद्देश्यीय र माउन्ट अपि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणका लागि सम्झौता भएको हो । 

सबै संस्थाहरुको एक महिनाभित्र साधारणसभा गरी तीन महिनाभित्र संयुक्त साधारणसभा गरी एकीकरण सम्पन्न गर्ने सम्झौता भएको छ । एकीकरण पश्चात संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहने प्रारम्भिक सहमति भएको छ । 

प्रस्तावित संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्र प्रसाद गेलाल रहने पनि सहमति भएको छ । सबै संस्थाको प्रतिनिधित्व रहेन गरी ११ जनाको संचालक समिति, ३ जनाको लेखा समिति रहने ब्यवस्था गरिएको छ । 

एकीकरणपछि संस्थाको सदस्य ४१ हजार, ५१० जना कर्मचारी, ५५ करोड ५० लाख शेयर पुँजी, ५ अर्ब ६५ करोड बचत,  ६ अर्व २५ करोड ऋण लगानी, ३१ करोड ५० लाख कुल कोष हिसाब र कुल सम्पति तथा दायित्व ७ अर्ब ७५ करोड पुग्ने जनाइएको छ । 

आर्थिक, प्रशासनिक र ब्यबसायिक पक्षहरुको सुदृढिकरण मार्फत सबल र दिगो सहकारी निर्माण गर्ने उद्धेश्य सहित एकीकरणका लागि सम्झौता गरिएको प्रस्तावित अध्यक्ष विष्टले बताए । 

एकीकरण सम्झौता कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री केबि उप्रेती, राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाई र जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको उपस्थिति रहेको थियो । 
 



Leave a comment