काठमाडौं । संघिय सरकार अन्र्तगत रहेको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रबाट तालिमका सुविधा लिनका लागि सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) अनिवार्य आवद्ध भएको हुनुपर्ने भएको छ । केन्द्रले चालु आर्थिक वर्षमा संचालन गर्ने
तालिमका लागि सहभागी पठाउन आग्रह गर्दै कोपोमिसमा आवद्धता भएका संस्थाका सदस्यले मात्र यो सुविधा पाउने ब्यवस्था गरेको हो ।
कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्र लिनका लागि कोपोमिसमा आवद्धता अनिवार्य गरेको सरकारले विभागबाट प्राप्त हुने सुविधा लिनका लागि समेत कोपोमिस अनिवार्य गरेको छ । कोपोमिस कार्यान्वयन भएको लामो समय वितिसक्दा पनि संस्थाहरु यसमा आवद्ध नभएपछि विभागले बाध्यात्मक प्रावधान गरेको हो ।
विभागबाट अनुदान, सिफारीसलगायतका सेवा लिनका लागि समेत कोपोमिसमा आवद्ध भई समष्टिगत विवरण बुझाएको हुनुपर्ने ब्यवस्था छ ।
केन्द्रले चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारीका लागि ७ दिने सहकारी प्रशिक्षक प्रशिक्षण र ४ दिने कोपोमिस अनुशिक्षण कार्यक्रम संचालन गर्दैछ । यसैगरी सहकारी संघसंस्थाका संचालक, सदस्य र कर्मचारीहरुका लागि भने ४ दिने आधारभुत, १५ दिने प्रशिक्षक प्रशिक्षण, ७ दिने व्यवसाय प्रर्वद्धन, १५ दिने नेतृत्व तथा संस्थागत विकास र १० दिने सहकारी लेखा तथा वित्तीय ब्यवस्थापन तालिम संचालन गर्ने जनाएको छ ।
तालिममा सहभागिताका लागि इच्छुक ब्यक्तिले केन्द्रको वेवसाईटमार्फत अनलाईन आवेदन गर्न सक्ने ब्यवस्था गरिएको छ । सहभागि हुन चाहानेहरुले पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र, प्रदेश र स्थानिय तहको सिफारीसका साथै कोपोमिसमा आवद्धताको प्रमाण समेत पेश गर्नुपर्ने केन्द्रद्धारा जारी सूचनामा उल्लेख छ ।
सहभागिहरुलाई तालिम अवधिको दैनिक भत्ता र आतेजाते यातायात खर्च समेत उपलब्ध हुने केन्द्रले जनाएको छ ।
Leave a comment