काठमाडौं । घरधन्दा, चुलाचौकामा सिमित महिलाहरुका लागि सहकारी संस्था शसक्तिकरणको आधार बनेका छन् । सहकारीमा आवद्ध भई महिलाहरु आर्थिक तथा सामाजिक रुपमा शसक्त बन्न थालेका जसको कारण आकर्षण पनि बढ्दै गएको छ ।
संघिय सहकारी विभागको तथ्यांक अनुसार नेपालको सहकारी अभियानमा पुरुषको भन्दा महिलाहरुको उपस्थिति बढी छ । सहकारीमा आवद्ध भएका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका कारण यसप्रति आकर्षण बढ्दै गएको हो ।
विभागको दुई वर्षअघि गरेको अध्ययन अनुसार देशभरका २९ हजार ८ सय ८६ सहकारी संघसंस्थामा कुल ७३ लाख ७ हजार ४ सय ६२ जना सर्वसाधारण आवद्ध भएकोमा महिलाहरुको संख्या ५६ प्रतिशत रहेको छ । महिलाको तुलनामा पुरुषको संख्या भने १२ प्रतिशत कम अर्थात ४४ प्रतिशत मात्र रहेको छ । यसैगरी महिला सदस्य मात्र आवद्ध भई खुलेका महिला सहकारी संस्थाको संख्या पनि तीन हजार नाघेको छ ।
सहकारीमा आवद्ध भई बचत गर्ने र बचतबाट आवश्यक गर्जो टार्ने तथा ऋण लिएर ब्यवसाय गर्ने क्रम बढ्दै गएको छ । यसबाहेक सहकारी संस्थाहरुले महिलाका लागि स्वरोजगार र आत्मनिर्भर बनाउन लागि विभिन्न किसिमका तालिम, शिक्षा समेत दिने गरेका छन् । कतिपय सहकारी संस्थाहरुले महिला उत्थानका तथा नेतृत्व विकासका लागि समेत नेतृत्व विकास, प्रौढ शिक्षा जस्ता कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।
लघुवित्त कार्यक्रममा बढि सहभागिता
सहकारी संस्थाहरुले गरिव तथा विपन्न वर्गमा वित्तीय पुहुँच पु¥याउन संचालन गरेको लघुवित्त कार्यक्रमबाट महिलाहरुको सहभागिता बृद्धि भएको छ । लघुवित्त कार्यक्रम अन्र्तगत महिलाहरुको समूह निर्माण गर्ने र त्यसैमार्फत बचत गर्ने र सामूहिक जमानीमा ऋण लगानी गर्ने गरेका छन् । लघुवित्त कार्यक्रम संचालन गर्दै आएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा १ लाख ६० हजार सदस्य रहेकोमा १ लाख ३४ हजार महिला रहेका छन् । संस्थाले महिलाहरुको समूह बनाएर लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।
यसैगरी सहकारीका कारण महिलाको नेतृत्व विकासमा समेत भूमिका खेल्न थालेको छ । घरबाहिर निस्केर बोल्न डराउने तथा लजाउने महिलाहरु सहकारीमा आवद्ध भएपछि संस्थाको संचालक समिति तथा विभिन्न उपसमितिमा बसेर नेतृत्व विकास गर्ने अवसर पाएका छन् । जसको कारण सामाजिक संघसंस्था हुँदै राजनीतिक रुपमा समेत महिलाहरु शसक्त रुपमा अघि बढ्न थालेका छन् ।
महिलाहरुको नेतृत्व विकासका लागि संघिय सहकारी ऐनमा सहकारी संघसंस्थाको नेतृत्वमा ३३ प्रतिशत महिलाको आरक्षण गरेको छ । तर, यसको कार्यान्वयन कमजोर हुँदा नेतृत्वमा भने महिलाको सहभागिता कमजोर छ । ३३ प्रतिशत आरक्षण गरेपनि सहकारी संघसंस्थाको नेतृत्वमै पुरुषहरुकै बाहुल्यता बढि छ ।
राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल सहकारीले महिलालाई स–सानो रकम बचत गर्न, ऋण लिएर स्वरोजगार र आत्मनिर्भर बन्नका साथै नेतृत्व विकासका लागि समेत ठूलो योगदान पु¥याएको बताउँछिन् । ‘सहकारीको कारण धेरै महिला दिदिबहिनीहरुको आर्थिक, सामाजिक विकास भएको छ’ उनले भनिन्, ‘सहकारीमा महिलाको उपस्थिती अनुसार नेतृत्वमा भने कमजोर छ, त्यो अधिकारका लागि हामी लडिरहेका छौं ।’
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया