महिला शसक्तिकरणको आधार बन्दै सहकारी 

महिला शसक्तिकरणको आधार बन्दै सहकारी  :: Sahakari Akhabar

काठमाडौं । घरधन्दा, चुलाचौकामा सिमित महिलाहरुका लागि सहकारी संस्था शसक्तिकरणको आधार बनेका छन् । सहकारीमा आवद्ध भई महिलाहरु आर्थिक तथा सामाजिक रुपमा शसक्त बन्न थालेका जसको कारण आकर्षण पनि बढ्दै गएको छ । 

संघिय सहकारी विभागको तथ्यांक अनुसार नेपालको सहकारी अभियानमा  पुरुषको भन्दा महिलाहरुको उपस्थिति बढी छ । सहकारीमा आवद्ध भएका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका कारण यसप्रति आकर्षण बढ्दै गएको हो । 

विभागको दुई वर्षअघि गरेको अध्ययन अनुसार देशभरका २९ हजार ८ सय ८६ सहकारी संघसंस्थामा कुल ७३ लाख ७ हजार ४ सय ६२ जना सर्वसाधारण आवद्ध भएकोमा महिलाहरुको संख्या ५६ प्रतिशत रहेको छ । महिलाको तुलनामा पुरुषको संख्या भने १२ प्रतिशत कम अर्थात ४४ प्रतिशत मात्र रहेको छ । यसैगरी महिला सदस्य मात्र आवद्ध भई खुलेका महिला सहकारी संस्थाको संख्या पनि तीन हजार नाघेको छ । 

सहकारीमा आवद्ध भई बचत गर्ने र बचतबाट आवश्यक गर्जो टार्ने तथा ऋण लिएर ब्यवसाय गर्ने क्रम बढ्दै गएको छ । यसबाहेक सहकारी संस्थाहरुले महिलाका लागि स्वरोजगार र आत्मनिर्भर बनाउन लागि विभिन्न किसिमका तालिम, शिक्षा समेत दिने गरेका छन् । कतिपय सहकारी संस्थाहरुले महिला उत्थानका तथा नेतृत्व विकासका लागि समेत नेतृत्व विकास, प्रौढ शिक्षा जस्ता कार्यक्रमहरु संचालन गर्दै आएका छन् । 

लघुवित्त कार्यक्रममा बढि सहभागिता 
सहकारी संस्थाहरुले गरिव तथा विपन्न वर्गमा वित्तीय पुहुँच पु¥याउन संचालन गरेको लघुवित्त कार्यक्रमबाट महिलाहरुको सहभागिता बृद्धि भएको छ । लघुवित्त कार्यक्रम अन्र्तगत महिलाहरुको समूह निर्माण गर्ने र त्यसैमार्फत बचत गर्ने र सामूहिक जमानीमा ऋण लगानी गर्ने गरेका छन् । लघुवित्त कार्यक्रम संचालन गर्दै आएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा १ लाख ६० हजार सदस्य रहेकोमा १ लाख ३४ हजार महिला रहेका छन् । संस्थाले महिलाहरुको समूह बनाएर लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । 

यसैगरी सहकारीका कारण महिलाको नेतृत्व विकासमा समेत भूमिका खेल्न थालेको छ । घरबाहिर निस्केर बोल्न डराउने तथा लजाउने महिलाहरु सहकारीमा आवद्ध भएपछि संस्थाको संचालक समिति तथा विभिन्न उपसमितिमा बसेर नेतृत्व विकास गर्ने अवसर पाएका छन् । जसको कारण सामाजिक संघसंस्था हुँदै राजनीतिक रुपमा समेत महिलाहरु शसक्त रुपमा अघि बढ्न थालेका छन् । 

महिलाहरुको नेतृत्व विकासका लागि संघिय सहकारी ऐनमा सहकारी संघसंस्थाको नेतृत्वमा ३३ प्रतिशत महिलाको आरक्षण गरेको छ । तर, यसको कार्यान्वयन कमजोर हुँदा नेतृत्वमा भने महिलाको सहभागिता कमजोर छ । ३३ प्रतिशत आरक्षण गरेपनि सहकारी संघसंस्थाको नेतृत्वमै पुरुषहरुकै बाहुल्यता बढि छ । 

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल सहकारीले महिलालाई स–सानो रकम बचत गर्न, ऋण लिएर स्वरोजगार र आत्मनिर्भर बन्नका साथै नेतृत्व विकासका लागि समेत ठूलो योगदान पु¥याएको बताउँछिन् । ‘सहकारीको कारण धेरै महिला दिदिबहिनीहरुको आर्थिक, सामाजिक विकास भएको छ’ उनले भनिन्, ‘सहकारीमा महिलाको उपस्थिती अनुसार नेतृत्वमा भने कमजोर छ, त्यो अधिकारका लागि हामी लडिरहेका छौं ।’
 



Leave a comment