अवैधानिक केन्द्रीय संघलाई महासंघकै संरक्षण !  

अवैधानिक केन्द्रीय संघलाई महासंघकै संरक्षण !   :: Sahakari Akhabar

काठमाडौं । सहकारी ऐन–२०७४ अनुसार समयमा साधारणसभा नगरेको तथा तोकिए अनुसार विवरण नबुझाएको केन्द्रीय सहकारी संघलाई राष्ट्रिय सहकारी महासंघले नै संरक्षण गरेका पाइएको छ । साधारणसभा नगरेको र विवरण नबुझाएको भन्दै खारेजीका लागि सहकारी विभागले स्पष्टिकरण सोधेको संघलाई महासंघले आफ्ना औपचारिक कार्यक्रमहरुमा सहभागि गराउने गरेको छ । 

विहिबार राष्ट्रिय सहकारी महासंघको टोली सहकारीका समसामयिक विषयहरुमा गुनासो गर्न अर्थमन्त्री जनादर्न शर्माकहाँ पुगेको थियो । महासंघको उक्त टोलिमा सुुचना तथा संचार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल समेत सहभागि थिए । तर, सुुचना तथा संचार केन्द्रीय सहकारी संघलाई संघिय सहकारी विभागले १५ दिनको समय दिएर स्पष्टिकरण सोधेको छ । विभागले साउन ३० गते सार्वजनिक सूचनामार्फत संचारसहित ६ वटा केन्द्रीय संघहरुलाई ऐनले तोके अनुसार विवरण पेश नगरेको भन्दै स्पष्टिकरण सोधेको हो ।

अर्थमन्त्रीसँग भेटपछि महासंघले फोटो सहित सार्वजकिन गरेको प्रेस विज्ञप्तीमा ‘अध्यक्ष कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीमा महासंघका संचालक टिका बुढाथोकी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सुुचना तथा संचार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाललगायतको उपस्थिति थियो’ उल्लेख छ । 

सहकारीको विकास र प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने सञ्चार केन्द्रीय संघ यतिबेला ‘कोमा’ छ । लामो समयदेखि कुनै गतिविधि नगर्नुका साथै साधारणभा समेत नगर्दा संघको कार्यसमिति नै अवैधानिक भइसकेको छ  । तर, संघका अध्यक्ष ढकाल भने केन्द्रीय संघको अध्यक्षको हैसियतमा सहकारीका कार्यक्रममा सक्रिय छन् । 

संघकी उपाध्यक्ष मना केसीले तीन वर्षयता कुनै काम गर्न नसकेको र कोभिड सुरु भएदेखि (२०७६ चैत्र) यता संघको बैठक समेत बस्न नसकेको जानकारी दिइन् । संघले ४ वर्षअघि विभागसँग सहकार्य गरी सञ्चार सहकारीहरूको प्रवद्र्धनका कार्यक्रम गरेको थियो ।

ढकालको कार्यसमिति अवैधानिक भइसकेपनि राष्ट्रिय सहकारी महासंघसहितका सरोकारवालाहरुले उनलाई अध्यक्षकै हैसियतमा कार्यक्रमहरुमा सहभागि गराएर संरक्षण गर्दै आएका छन् । 

एमाले पार्टीको कोटाबाट संघको अध्यक्ष पाएका ढकाल हाल माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । एमालेबाट असतुष्ट भई माओवादीमा प्रवेश गरेका ढकाल अर्थमन्त्री जनादर्न शर्मासँग निकट मानिन्छन् । शर्मासँगको निकटको ‘पावर’ लाई प्रयोग गर्नकै लागि भएपनि सहकारी नेताहरुले ढकालको गुनगान गाउने गरेको एक सहकारी नेताले बताए । 
 



Leave a comment