सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालन गर्न आग्रह 

सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालन गर्न आग्रह  :: Sahakari Akhabar

पाल्पा । राज्यले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालनका लागि राज्यलाई दवाव सिर्जना गर्न पाल्पाका सहकारीकर्मीहरुले सहकारी अभियानका अगुवाहरुलाई आग्रह गरेका छन् । 

राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजना तथा जिल्ला वचत तथा ऋण सहकारी संघ पाल्पाको समन्वयमा तानसेनमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालनका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिएका हुन् ।     

संविधानमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मान्ने तर व्यवहारमा सहकारीलाई कहि कतै सम्बोधन नगर्ने राज्यको व्यवहारमा परिवर्तन आवश्यक छ, सहकारीकर्मीहरुले भने–‘गाउँका जेष्ठ नागरिक लगायत अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्यका लागि सहकारीहरुमार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था आवश्यक छ ।’  
    
सहकारी अभियानमा देखिएका कमी कमजोरी सुधार गर्न, सुधारका लागि सुझाव दिदा पनि कार्यान्वयन नगर्ने सहकारीलाई कार्वाही गर्न तथा सहकारीलाई राज्यले सञ्चालन गर्ने वित्तीय कारोबार सहभागी गराउन सहकारीकर्मीहरुको माग थियो ।     
    
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहको समग्र विकासका लागि सहकारीहरु साझेदार निकाय भएकाले सहकारीको प्रवद्र्धन र विकासमा नगरपालिकाले योजनावद्ध रुपमा सहकार्य गर्दै आएको बताए । सहकारीहरुले सञ्चालन गर्दै आएका सदस्य केन्द्रीत सेवाहरुलाई थप प्रभावकारी बनाउन नीतिगत तथा व्यवसायिक रुपमा सहकार्य गर्दै स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन सहकारीहरुलाई साझेदारका रुपमा अगाडि बढाइएको उनले जानकारी दिए । 

बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीहरुलाई वित्तीय रुपमा सक्षम, कानुनी रुपमा सुशासनयुक्त, सामाजिक रुपमा उच्च छवि कायम गर्न सक्ने र व्यवहारिक रुपमा सहकारी मैत्री बनाउन सहकारी बैंकले वित्तीय कारोवार, संस्थागत सुशासन, बहस पैरवी र प्रविधि लगायतका सेवा सञ्चालन गर्दै आएको बताए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी  राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धिताल, तानसेन नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गा थापा, बगनाशकाली गाउँपालिका सहकारी शाखाका प्रमुख यादव न्यौपाने, तानसेन नगरपालिका सहकारी सञ्जालका संयोजक महेश्वर पन्तलगायतले मन्तव्य व्यक्त गर्नु गरेका थिए । 

कार्यक्रममा बैंकको बुटवल शाखाका प्रमुख नारायण वेलवासेले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए । 
 



Leave a comment