काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले तालिमको पाठ्यक्रम परिवर्तन गर्ने भएको छ । तालिममा सिकाइने विषयवस्तुहरु पुरानो भएको गुनासो बढेसँगै यसलाई समयानकुल बनाउन केन्द्रले पाठ्यक्रम नै परिमार्जन गर्न लागेको हो ।
केन्द्रले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूका लागि सहकारी सम्बन्धी विभिन्न प्रकारका प्रशिक्षण, तालिम, अध्ययन, अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराइरहेको छ । तालिम/प्रशिक्षणको पाठ्यक्रममा समसामयिक परिमार्जनको लागि अध्ययन भइरहेको केन्द्रका सूचना अधिकारी देवराज लुइटेलले जानकारी दिए ।
पाठ्यक्रम परिमार्जनका लागि विभागले विज्ञ तथा सरोकारवालाहरुबाट सल्लाह÷सुझाव समेत मागेको छ ।
केन्द्रले हाल आधारभुत सहकारी, ब्यवसाय प्रवद्र्धन, कोमोमिस, प्रशिक्षक प्रशिक्षण, वित्त व्यवस्थापन, स्थानिय तहमा कार्यरत कर्मचारीलाई सेवाकालिन तालिम सञ्चालन गर्दै आएको छ ।
संघिय सरकार मातहत रहेको केन्द्रले वार्षिक पाँच सय जनालाई तालिम दिदै आएको छ । संघीयता कार्यान्वयनसँगै सहकारी प्रशिक्षण केन्द्रसँग अनुसन्धान नाम जोडिए पनि केन्द्र तालिम कार्यक्रममा मात्र सिमित छ ।
केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम गर्न सकेको छैन ।
Leave a comment