काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा बढाइएको सहकारीको आयकर पुर्नविचार गर्ने प्रतिवद्धता गरेका छन् । बिहिबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीसँगको भेटवार्तामा उनले सहकारी ऐनमा उल्लेख भए अनुसार महानगरमा १० प्रतिशत, उपमहानगरमा ७ प्रतिशत, नगरपालिकामा ५ प्रतिशत आयकरको व्यवस्था लागू गर्ने प्रतिवद्धता गरेका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ मा सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको छ । बजेटमा सहकारीको करको दरमा ५० प्रतिशत बृद्धि भएपछि महासंघले विरोध गर्दै आएको छ ।
भेटमा बजेटले सहकारीका विषयमा समेटिएका कुराहरुको कार्यान्वयनका लागि अभियानको सक्रियता चाहिनेमा मन्त्री शर्माले जोड दिए । राष्ट्रिय सहकारी बैंक र साना किसान लघुवित्त संस्थाले सहकारी कृषि, फलफुल, पशुपालन र विशेषगरी तरकारी खेतीमा लगानी केन्द्रित गर्नुपर्ने कुरामा उनले जोड दिए ।
मन्त्री शर्माले तरकारीमा आत्मनिर्भर अभियान संचालन गर्ने सहकारी संघ/संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी उल्लेखनिय मात्रामा बढाउन आग्रह समेत गरे । उनले सहकारी संघ/संस्थाहरुले होल्डिङ कम्पनी स्थापना गरी पुँजी परिचालन गर्नका लागि केहि नेपाल ऐन संशोधनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई समेत आग्रह गरेको जानकारी दिए ।
यसैगरी मन्त्री शर्माले सहकारी क्षेत्रको अनुगमन निरिक्षणका लागि बजेटले अघि सारेको दोस्रो तहको संरचना स्थापनाका लागि प्राविधिक तवरले कुरा मिलाउन राष्ट्र बैंकसँग कुरा भैरहेको बताउँदै चाँडो सो संरचना खडा गर्ने बताए ।
भेटमा महासंघका अध्यक्ष मिनराज कडेलले बजेट सिंगो सहकारी अभियानको स्प्रिट अनुसार आएकोमा सोको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघ लगायत राष्ट्रिय सहकारी बैंक र केन्द्रीय संघहरु प्रतिबद्ध रहेको बताए । उनले कृषि कर्जा किसानको घर दैलोमा पु¥याउने उद्देश्यले स्थापित लघुवित्त कोष राष्ट्रिय सहकारी बैंक एवं विभिन्न वित्तीय कारोबार गर्ने केन्द्रीय सहकारी संघहरुमार्फत परिचालन गर्ने व्यवस्था मिलाउन र नेशनल क्लियरिङ्ग हाउस एवं नेसनल पेमेण्ट गेटवे, फण्ड ट्रान्सफर एटीएम सुविधाहरु सहकारीलाई दिन माग गरे ।
टोलीमा महासंघका संचालक टिका बुढाथोकी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सुुचना तथा संचार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाललगायतको उपस्थिति थियो ।
Leave a comment