जग्गा दिन्छु भन्दै सदस्य र नियामक झुक्याउदै देउराली सहकारी

जग्गा दिन्छु भन्दै सदस्य र नियामक झुक्याउदै देउराली सहकारी :: Sahakari Akhabar

काठमाडौं । सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्षका निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीले बचतको सट्टा जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउने प्रयास गरेको छ । संचालक विरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि संस्थाले साना बचतकर्तालाई नगद र ठुला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएको छ । 

संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले मंगलबार सिमित सदस्यको भेला गरेर ९ बुँदे योजना सार्वजनिक गरेका थिए । उनले प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको योजनामा ५ लाख रुपैयाँसम्म बचत भएका सदस्यलाई क्रमश नगद र त्यसभन्दा बढि भएकालाई चितवनको मेघौलीमा रहेको जग्गा दिने योजना अघि सारेका छन् । 

संस्थाले साना बचतकर्तालाई तीनवटा काउन्टरबाट क्रमिक रुपमा बचत फिर्ता गर्ने भनेपनि कहिलेसम्म फिर्ता दिने स्पष्ट उल्लेख गरेको छैन । बचत फिर्ता गर्ने स्पष्ट खाका समेत योजनामा समावेश छैन । 

यसैगरी ५ लाख भन्दा बढि बचत भएका सदस्यहरुलाई ब्यक्तिगत वा सामूहिक रुपमा जग्गा सुरक्षण दिने वा जग्गा नै पास गरिदिने योजना ल्याएको छ । संस्थाको योजनामा सदस्यलाई बचत रकम फिर्ता नभएसम्मका लागि जग्गा सुरक्षण दिने वा जग्गा नै दिने उल्लेख छ । तर, जग्गा सुरक्षण लिने सदस्यलाई कति समयमा बचत फिर्ता गर्ने प्रष्ट पारेको छैन । 

अध्यक्ष चौलागाईंले काठमाडौं उपत्यकाभित्र घरजग्गा विभिन्न कम्पनीको नाममा रहेका घरजग्गा रोक्का रहेको भन्दै उपत्यकाबाहिरको जग्गा स्विकार गर्न बचतकर्तालाई बाध्य पारेका छन् । 

यसैगरी अध्यक्ष चौलागाईंले संस्थाको अवस्था, बचत रकमको परिचालन, ऋण असुलिको अवस्थाबारे सदस्यहरुलाई कुनै जानकारी दिएका छैनन् । उल्टै अर्थतन्त्रमा आएको मन्दीका कारण अप्ठेरोमा परेको भन्दै सहयोग गर्न सदस्य र सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

संस्थाका अध्यक्ष चौलागाईले सहायक कम्पनी खडा गरी सर्वसाधारणको बचत रकम चितवन र लामाटरमा जग्गामा दुरुपयोग गरेका थिए । संस्थाले जारी गरेको विज्ञप्तीमा चितवन जिल्ला भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको जानकारी दिएको छ । 

संस्था समस्याग्रस्त भएपनि हालसम्म नियामक निकायले कुनै छानविन गरेको छैन । यस्तै संस्थाले आफ्नो योजनाबारे नियामकलाई समेत जानकारी गराएको छैन । 

संस्थाले २० हजार सदस्यबाट ३ अर्ब बचत संकलन गरेको छ । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीले भक्तपुर र न्यूरोडमा सेवा केन्द्र खोलेको छ  ।

बचत रकम आफ्नै कम्पनीबाट घरजग्गामा लगानी गरेपछि संस्थामा तरलता अभाव हुन थालेको थियो । त्यसपछि बचतकर्तालाई एक पटकमा २५ हजार रुपैयाँमात्र फिर्ता गर्दै आएको संस्थाले असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । संस्थाले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए ।

संस्थाको बचत रकम कानुन विपरित दुरुपयोग गरेका अध्यक्ष चौलागाईंले कारवाहीबाट बच्नका लागि नियामक र सहकारी अभियानका नेताहरुलाई समेत प्रभावित पारेको बताइएको छ । 

सहकारीमा राष्ट्रिय सहकारी बैंकको समेत ठूलो लगानी छ । संस्था र संचालकलाई कारवाही अघि बढाउदा सहकारी अभियानलाई नै अप्ठेरो पर्ने भन्दै कारवाहीबाट जोगाउन सहकारीका नेताहरु नै सक्रिय देखिएका छन् । 

तर, संस्थाले गरेका सदस्य भेलामा भने सहकारीका नेताहरु देखिने गरेका छैनन् । ललितपुर जिल्लाका सहकारी नेताहरु पर्दा पछाडी बसेर समस्या समाधान गर्ने नाममा अध्यक्ष चौलागाईलाई कारवाहीबाट जोगाउन सक्रिय भएको समाचार स्रोतले बताएको छ । 

यसैगरी अध्यक्ष चौलागाईंले संस्थाको अवस्था, बचत रकमको परिचालन, ऋण असुलिको अवस्थाबारे सदस्यहरुलाई कुनै जानकारी दिएका छैनन् । उल्टै अर्थतन्त्रमा आएको मन्दीका कारण अप्ठेरोमा परेको भन्दै सहयोग गर्न सदस्य र सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

सदस्यहरुलाई विश्वासमा लिनकै लागि संस्थामा रमेश उप्रेतीलाई प्रमुख कार्यकारी अधिकृत र पार्वता भुसाललाई जनसम्पर्क अधिकृतको जिम्मेवारी दिइएको छ । 
 



Leave a comment