सहकारीको तथ्यांक लुकाउन विभागकै प्रोत्साहन 

सहकारीको तथ्यांक लुकाउन विभागकै प्रोत्साहन  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुले आफ्नो वित्तीय अवस्थाका बारेमा सदस्यहरुलाई यथार्थ जानकारी दिनुपर्ने भएपनि तथ्यांक लुकाउन सहकारी विभागले नै प्रोत्साहन गरेको छ । सहकारीमा समस्या बढ्दै गएपछि विभागले प्रत्येक महिना वित्तीय प्रतिवेदन प्रकाशित गर्न निर्देशन दिएपनि प्रकाशित गर्नुपर्ने सूचकले संस्थाहरुको वास्तविक अवस्था नखुल्ने र यसबाट सदस्यलाई संस्थाको जोखिमको अवस्था थाहा नहुने विज्ञहरु बताउछन्।

विभागको निर्देशनमा संघसंस्थाहरुले सेयर पुँजी, जगेडा कोष, सम्पत्ति, बचत, लगानीमा रहेको कर्जा, सेयर सदस्य संख्या, ऋणीको संख्या, तरलता रकम र प्रतिशत, संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकमको विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था छ । तर, विभागले तोकेका सूचकहरुले सहकारीको वास्तविक अवस्था मूल्यांकन नहुने र यसबाट सहकारीलाई जोखिमको पाटो लुकाउन प्रश्रय मिलेको विज्ञहरुको भनाइ छ ।

विभागले तोकेका सूचकहरुले सहकारी संस्थाको वास्तविक अवस्था विश्लेषण गर्न नसकिने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा बताउँछन् । ‘सेयर मात्रै धेरै उठाएर, बचत संकलन नगरी ऋण लिएको अवस्था पत्ता लाग्ने भएपनि समग्रमा संस्था कस्तो छ भन्ने पत्ता लाग्न कठिन हुन्छ’ उनले भने, ‘भाखा नाघेको ऋण, जोखिम कोष र ऋणको वर्गीकरणलगायतका जोखिमका क्षेत्र भने सार्वजनिक गर्नुपर्ने ब्यवस्था छैन ।’

भाखा नाघेको ऋण र जोखिम कोषको व्यवस्था थप्न सके सहकारीको वास्तविक अवस्था आउने सापकोटा बताउँछन् । ‘यी विषय थप्न सके संस्थाको वास्तविक अवस्था पत्ता लगाउन सकिन्छ’ उनले भने, ‘अहिले मागेको विवरण ब्यालेन्ससीटबाट सार्ने भन्दा अरु थप विवरण लिनुनपर्ने भएकाले मेहनत गर्नुपर्ने अवस्था छैन ।’

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रेका पूर्व म्यानेजर विवेकराज ठकुरी मासिक प्रतिवेदन प्रकाशित गर्न लगाउनु राम्रो भएको बताउँछन् । ‘मागिएका शीर्षक पर्याप्त छैन्’ ‘ठकुरी भन्छन्, ‘ऋण कुन क्षेत्रमा प्रवाह भएको छ, असल, खराब के छ, त्यो पनि माग्न आवश्यक छ ।’ मासिक प्रतिवेदनमा आउनुपर्ने विवरण पर्याप्त नभएपनि सुरुवात हुनु सकारात्मक भएको उनको भनाइ छ ।

‘वास्तविक तथ्यांक पत्ता लगाउन प्रकाशित भएका वित्तीय विवरण पनि परीक्षण गर्नुपर्छ,’, ठकुरी भन्छन्, ‘जे निकालेका छन्, त्यो सही हो कि होइन भन्ने यकिन गर्न पनि कठिनाइ परेको छ ।’ ठकुरीका अनुसार कतिपय सहकारी संस्थाको संस्थागत पुँजी निकालेको मिल्दैन । ‘तरलता कसरी हिसाव गरेका छन्, थाहा हुँदैन’ उनले भने ।

संस्थाको वित्तीय विवरण ठिक÷बेठिक कसले हेर्ने प्रश्न चिन्ह खडा भएको उनी ठान्छन् । ‘विभागसँग दक्ष जनशक्ति पनि छैन । तरलता, बचत र ऋणको विवरण आएपनि कस्ता खालका बचत तथा ऋण छन् । नियमित बचत छ कि छैन थाहा हुँदैन ।’ यसैगरी विवरणमा सन्दर्भ ब्याजदर परिपालना भए / नभएको यकिन नहुने उनको भनाइ छ । 



Leave a comment