काठमाडौं । सहकारीका संघहरुले नियायक निकायको निर्देशन नटेरेको पाइएको छ । सहकारी विभागले साउन ३१ गते सहकारी संघसंस्थाहरुलाई निर्देशन जारी गर्दै एक हप्ताभित्र संस्थाको वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशन बमोजिम केही प्रारम्भीक सहकारीले वित्तीय विवरण सार्वजनिक गरेपनि संघहरुले भने उक्त निर्देशनको वेवास्ता गरेका छन् । नेफ्ूस्कूनले वित्तीय विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ भने ललितपुर बचत तथा ऋण सहकारी संघले हरेक तीन÷३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने गरेको छ ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरुले पनि वित्तीय विवरण प्रकाशित गर्नुपर्ने बताउँछन् । सहकारी ऐनको दफा २ (फ) मा ‘सहकारी संस्था’ भन्नाले संस्था वा संघ सम्झनुपर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउने उल्लेख छ ।
पण्डितले संघहरु पनि संस्थाको परिभाषाभित्र पर्ने भएकाले बित्तीय सूचक प्रकाशित गर्नुपर्ने बताउँछन् । ‘संघहरुले पनि वित्तीय विवरण स्वतः जारी गर्नुपर्ने होइन र ! ढिला नगरौ, श्रावण सम्मको सूचना शिघ्र जारी गरौ’ पण्डितले सामाजिक सञ्जालमै संघहरुलाई सचेत गराएका छन् ।
विभागले साउन ३१ गते जारी गरेको निर्देशनको बुँदा नम्बर ८ मा सहकारी संस्थाहरुले अब हरेक महिना वित्तीय विवरण प्रकाशत गर्नुपर्ने उल्लेख छ । निर्देशन जारी भएको एक साताभित्र र त्यसप्रछि प्रत्येक महिना वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिए पनि संघहरुले अटेरी गरेका छन् ।
विभागले संघसंस्थाको सेयर पुँजी, जगेडा कोष, सम्पत्ति, बचत, लगानीमा रहेको कर्जा, सेयर सदस्य संख्या, ऋणी सदस्य, तरलता रकम र प्रतिशत, संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकमको विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।
Leave a comment