काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुले वित्तीय अनुशासनको पालना नगरेको भन्दै आलोचना भइरहेका बेला ऋण लगानी समेत जोखिमपूर्ण पाइएको छ । सहकारी विभागको निर्देशन अनुसार सार्वजनिक वित्तीय विवरण विश्लेषण गर्दा संस्थाहरुको ऋण लगानी सिमित सदस्यहरुमा मात्र केन्द्रीत भएको देखिएको हो । तरलताको अवस्थालाई केन्द्रीत गरि प्रकाशन गरिएका वित्तीय विवरणहरुमा तलताको अवस्था सहज देखिएपनि ऋण लगानी पनि जोखिमपूर्ण देखिएको छ ।
सहकारीहरुले लगानीको जोखिम कम गर्न कुल सदस्यमध्ये कम्तीमा ३० प्रतिशत भन्दा बढिलाई ऋण प्रवाह गनुपर्ने मान्यता भएपनि १५ प्रतिशत भन्दा कमलाई मात्र लगानी गरेका छन् । ‘जति धेरै संदस्यलाई ऋण दियो त्यति धेरै जोखिम कम हुन्छ’ राष्ट्रिय सहकारी बैंकका बरिष्ठ तालिम अधिकृत बल्लभ तिम्मलसिनाले भने, ‘हामीले संस्थाहरुले ३० प्रतिशत भन्दा बढि सदस्यलाई कर्जा दिनुहोस् भनेर सिकाउने गरेका छौं ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले ऋण लिने सदस्य सबै संस्थामा थोरै हुने गरेको बताउँछन् । ‘ऋण लिनेको तुलनामा बचत गर्ने धेरै हुन्छन्, सबै सदस्यलाई ऋण दिन पनि सकिदैँन ।’ थोरै व्यक्तिलाई मात्र कर्जा दिदा असुली हुन नसकी खराव ऋणको आकार बढ्दै गएको छ । समुदाय र सदस्य केन्द्रीत दावी गर्ने संस्थाहरुमा पनि ऋण लगानी भने थोरै सदस्यमा मात्र केन्द्रीत भेटिएको छ ।
काभ्रेको बुडोल सामुदायिक साकोसका १६ हजार ३ सय १० सदस्यमध्ये २ हजार ५ सय २० जना सदस्यले ऋण लिएका छन् । संस्थाको कुल सदस्यमध्ये १५ प्रतिशतले मात्र कर्जा लिएका छन् । उनीहरुले १ अर्ब ३२ करोड ५४ लाख ऋण उपयोग गरेका छन् ।
काभ्रेकै सामुदायिक साकोसमा पनि ऋण लिन सदस्यहरुको हिस्सा १४ प्रतिशत मात्र छ । संस्थाका कूल ३७ हजार ७ सय ४१ सदस्यमध्ये ५ हजार ४ सय ७२ जनाले ऋण लिएको र उनीहरुलाई २ अर्ब ९८ करोड ७८ लाख लगानी गरेको छ ।
पोखरा रोयलमा पनि ऋणीको हिस्सा १८ प्रतिशत मात्र रहेको छ । संस्थामा कुल ८ हजार ५ सय २९ सदस्य रहेकोमा १ हजार ५ सय ४० जनाले १ अर्ब ८५ करोड कर्जा लिएका छन् । काठमाडौंको चन्द्रागिरी साकोसका १५ हजार चार सय ५४ सदस्यमध्ये १४ प्रतिशत अर्थात २ हजार २ सय ९ जना सदस्यले मात्र ऋण लिएका छन् । उनीहरुलाई संस्थाले १ अर्ब ९९ करोड लगानी गरेको छ ।
म्याग्दीको बेनी साकोसका १ हजार ६ सय ९२ जना सदस्यमध्ये ४ सय ५९ जनाले ऋण लिएका छन् । उनीहरुले ४२ करोड ७६ लाख ऋण लिएका छन् । सूर्योदय साकोसका ५ हजार २ सय ३८ मध्ये झण्डै आधा सदस्यले ऋण प्रयोग गरेको पाइएको छ । २ हजार ५७ जनाले ३२ करोड ३८ लाख ऋण लगेका छन् ।
रामेछापको नवजागरण साकोसका ७ हजार ९ सय ५८ जना सदस्य मध्ये ७ सय ६१ जनाले मात्रै ऋण लिएका छन् । उनीहरुले ३८ करोड ६५ लाख ऋण चलाएका हुन् । काठमाडौंको सज्जन महिला साकोसका १ हजार ७ सय ७१ सदस्यमध्ये २ सय ५२ जनाले ऋण लिएका छन् । संस्थामा ऋणी सदस्यको हिस्सा १४ प्रतिशत मात्र देखिएको छ ।
यसैगरी ललितपुरको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थामा पनि १४ प्रतिशत सदस्यले मात्र कर्जा उपभोग गरेका छन् । संस्थामा कुल ३ हजार ६९० सदस्य रहेकोमा ५१९ जना सदस्यले मात्र उपभोग गरेका छन् ।ललितपुरकै मनासलु बहुउद्देश्यीय सहकारी संस्थामा १० प्रतिशत मात्र ऋण उपभोग गरेका छन् । संस्थामा ३ हजार २१ जना सदस्य रहेकोमा ३१२ जना सदस्यले मात्र ऋण लिएका छन् । संस्थाको कुल ऋण लगानी ७२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
Leave a comment