राष्ट्र बैंकको गलत तथ्यांक राखेर सहकारीलाई निर्देशन !

राष्ट्र बैंकको गलत तथ्यांक राखेर सहकारीलाई निर्देशन ! :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागले नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको भन्दा गलत तथ्यांक राखेर सहकारी संघसंस्थाहरुलाई निर्देशन जारी गरेको छ । विभागले मंगलबार जारी गरेको निर्देशनमा मौद्रिक नीतिको प्रक्षेपण अनुसार कर्जा प्रवाह घटाउन आग्रह गरेपछि उक्त तथ्यांक नै गलत राखेको हो ।

 
विभागले जारी गरेको निर्देशनको बुँदा नं ४ मा ‘मौद्रिक नीतिले निजी क्षेत्रतर्फ कर्जाको वृद्धिदर १.६ प्रतिशत प्रक्षेपण गरेको सन्दर्भमा सहकारी संस्थाहरुले दीर्घकालिन स्रोत सुनिश्चित नगरी कर्जा लगानी नगर्ने । कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यावसायमा लगानी गर्ने र स्थिर सम्पतिहरुमा सकेसम्म कर्जा लगानी नगर्ने’ उल्लेख गरिएको छ ।  तर, राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । 

मौद्रिक नीतिमा कर्जा विस्तारको लक्ष्य घटाएको उल्लेख गर्दै सहकारीलाई पनि कर्जा विस्तारमा संयमित हुन विभागले सहकारी संस्थाहरुलाई आग्रह गरेपनि निर्देशनमा प्रयोग भएको तथ्यांक भने गलत उल्लेख गरेको छ । 

गत आवमा निजी क्षेत्रको कर्जाको बृद्धिदर १९ प्रतिशत राखिएकोमा चालु आवमा भने कर्जाको बृद्धिदर घटाएको हो । आयातलगायत अनुत्पादक क्षेत्रमा कर्जा विस्तारका कारण शोधानान्तर घाटा उच्च भएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएको भन्दै केन्द्रीय बैंकले कर्जा विस्तारको लक्ष्य घटाएको थियो । 


मौद्रिक नीतिमा कर्जा विस्तारको लक्ष्य घटाएको उल्लेख गर्दै सहकारीलाई पनि कर्जा विस्तारमा संयमित हुन विभागले आग्रह गरेपनि निर्देशनमा प्रयोग भएको तथ्यांक भने गलत छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्था हुँदै सहकारीमा पनि तरलता अभाव भइरहेको छ । तर, सहकारी संस्थाहरुले न्यूनतम तरलता समेत ब्यवस्थापन नगरी कर्जा प्रवाह गरेकाले केहि सहकारी संस्थाहरुलाई सदस्यको बचत फिर्ता गर्न समेत समस्या भएको छ । 

सहकारीका संघहरुले गत आईतबार सदस्यहरुलाई सेयर रकम र म्याद भन्दा अघि आवाधिक बचत फिर्ता नगर्न र साधारण बचतको हकमा एक पटकमा ५ प्रतिशत मात्र फिर्ता दिन अपील जारी गरेका थिए । उक्त अपिलका कारण सहकारी संस्थाप्रति सर्वसाधारण शंसकित बन्न थालेपछि विभागले निर्देशनमार्फत प्रष्ट्याएको हो । 

सहकारी संचालक र सदस्यलाई सहकारी विभागको निर्देशन (पूर्ण पाठ)



Leave a comment