५ प्रतिशतमात्र बचत फिर्ता गर्ने अपीलप्रति रजिष्ट्रारको असन्तुष्टि 

५ प्रतिशतमात्र बचत फिर्ता गर्ने अपीलप्रति रजिष्ट्रारको असन्तुष्टि  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघसहित १६ वटा संघहरुले ५ प्रतिशत मात्र बचत फिर्ता गर्न र नगद लाभांस नबाड्न गरेको अपीलमा संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आपत्ति जनाएका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) को स्थापना दिवसका अवसरमा बोल्दै रजिष्ट्रार पण्डितले ५ प्रतिशत बचत फिर्ता गर्नुपर्ने र लाभांश वितरण गर्न नपाइने विषयले भ्रम सिर्जना गरेको भन्दै यसलाई विभागले स्पष्ट पार्ने बताए । ‘अभियानको विज्ञप्तिले अनर्थ लगाएको छ’, पण्डितले भने,‘त्यसलाई स्पष्ट पार्न सहकारी विभागले छिट्टै निर्देशन जारी गर्दै छ ।’

साउन २२ गते राष्ट्रिय सहकारी महासंघसहित १६ वटा केन्द्रीय संघले संयुक्त रुपमा अपील जारी गर्दै तरलताको अवस्था सहज नभएसम्म शेयर तथा आवधिक बचत फिर्ता नगर्न, साधारण बचतमा एक पटकमा ५ प्रतिशतमात्र फिर्ता गर्न तथा नगद लाभांस वितरण नगर्न आग्रह गरिएको थियो । तर, उक्त अपीलका कारण सबै सहकारीमा समस्या रहेको सन्देश गएको भन्दै सहकारीकर्मीले समेत विरोध गरिरहेका छन् । 

यसैगरी संघहरुले आफ्नो अधिकार मिचेर प्रारम्भिक संस्थाहरुलाई बचत फिर्ता नगर्न निर्देशन दिएको भन्दै उनीहरुको आलोचना समेत भइरहेको छ । 

रजिष्ट्रार पण्डितले पर्याप्त तरलता भएका सहकारीले लाभांश वितरण गर्न सक्ने उनले बताए । त्यस्तै तरलता अभाव नभएका सहकारीले सदस्यलाई बचत फिर्ता गर्न सक्ने समेत स्पष्ट पारे । 

अभियानको विज्ञप्तिले सहकारीमा भ्रम फैलिएकाले विभागले छिट्टै नीतिगत निर्देशन जारी गर्ने तयारी गरेको बताए । सहकारीमा स्वार्थ समूह हाबी भएकाले समस्या आएको उनको भनाइ छ । घरजग्गामा लगानी गर्दा सहकारीमा समस्या आएको उनले बताए । समुदायमा आधारित, सदस्य केन्द्रीत र स्वनियमनमा सञ्चालन भएका सहकारी मात्रै उन्नती र प्रगतिको बाटोमा जाने उनले बताए । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी स्वनियमनमा चल्न सक्नुपर्ने बताए । सहकारीले सदस्यको बीचमा काम गर्नुपर्ने त्यसो नभएकाले सरकारको चिन्ता र चासो बढेको उनले बताए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अपीलको विषयमा बचाउ गर्दै समस्यामा परेका संस्थाहरुलाई सुझाव मात्र दिइएको बताए । ‘हामीले कुनै निर्देशन जारी गरेका होइनौं’ उनले भने, ‘तरलताको समस्यामा रहेका संस्थाहरुलाई सुझाव मात्र दिएका हौं ।’
 



Leave a comment